रास्वपाको अष्ट्रेलियामा पहिलो केन्द्रीय अधिवेशन भयो सफलतापूर्वक सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अष्ट्रेलियाको प्रवास सम्पर्क विभाग अन्तर्गत पहिलो केन्द्रीय अधिवेशन आइतबार २०२४ डिसेम्बर २२ मा भर्चुअल माध्यम (जुम) मार्फत सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। समितिमा संयोजक डा. कृष्णप्रसाद पौडेल, उपसंयोजक निराजन थापा, सचिव गणेश पौडेल, र कोषाध्यक्ष कमल तिमिल्सिना चयन भएका छन्। अन्य सदस्यहरूमा अमुल रेग्मी, अनु पाण्डे, गोपी कुमार थापा, विश्वास भट्टराई, दत्त मल्ल, सुमित रत्न बज्राचार्य, र शम्भु पुरी रहेका छन्।

त्यसैगरी अधिवेशनमा रास्वपाका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डिपी अर्याल, केन्द्रीय सदस्यहरू डा. तोसिमा कार्की र शिशिर खनाल, तथा प्रवास सम्पर्क विभागका सचिव पदमराज पन्थीको पनि सहभागिता रहेको थियो।

क्षेत्रीय स्तरमा न्यु साउथ वेल्स राज्यका लागि ११ सदस्यीय समिति गठन गरिएको छ, जसको अध्यक्ष दिबेन्द्र उप्रेती छन्। त्यसैगरी, दक्षिण अष्ट्रेलियाका लागि सुमित बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ र केन्द्रीय समितिले अन्य राज्यहरूमा पनि निकट भविष्यमा क्षेत्रीय समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ।

नवगठित समितिले अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूलाई संगठित गर्दै नेपालप्रति उनीहरूको क्षमता र योगदानलाई राष्ट्रिय समृद्धिका लागि उपयोग गर्ने उद्देश्य लिएको छ। साथै, प्रवासी नेपालीहरूको आवाजलाई संस्थागत गर्दै नेपाल र प्रवासी समुदायबीच सशक्त सम्बन्ध निर्माणमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।