रविलाई निलम्बन गर्ने पत्र संसद सचिवालय पुग्यो

पुष ८, २०८१ काठमाडौँ: प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा आइपुगेको छ ।

आइतबार कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको पत्र आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।