अभिनेत्री नन्दिता केसी आमा बनेकी छन् । गत वर्ष डा. अरविन्द्र कटवालसँग विवाह बन्धनमा बाँधिएकी उनले पहिलो सन्तानको रुपमा बुधबार छोरालाई जन्म दिएकी हुन् । उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् सन्तान प्राप्तिको खुसी साटेकी छन् । उनलाई श्वेता खड्का, यूना उप्रेती, उषा पौडेल लगायतका कलाकारहरुले बधाई दिएका छन् ।
अमेरिकामा बस्दै आइरहेकी नन्दिताले गत भदौमा बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् । उनको विवाह गत फागुन १९ गते काठमाडौंमा भएको थियो । विवाहका लागि अमेरिकाबाट नेपाल आउने क्रममा उनले क्यानडाको एक पार्कमा इन्गेजमेन्ट गरेकी थिइन् । नन्दिताका श्रीमान् अरविन्द्र पेशाले चिकित्सक हुन् ।
अमेरिका गएसँगै नन्दिताले अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् । फिल्म ‘इन्द्रेणी’बाट डेब्यु गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘जंगबहादुरको कोट’ हो । उनले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘त्रिशुल’, ‘मृगतृष्णा’, ‘सपना’, ‘तिमी मात्र तिमी’ लगायतका दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । कुनै समय नेपाली फिल्ममा उनको राम्रो माग थियो ।
स्रोत:फिल्मी खबर