रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

पुष ५, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।

रवि पक्राउ परेकै प्रकरण पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (आज) ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ ।