ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करप्रति असन्तोष व्यक्त गर्दै कडा अभिव्यक्ति दिएका छन्। राष्ट्रपति पद ग्रहण गर्नुभन्दा अघिको एक अन्तर्वार्तामा ट्रम्पले भारतले अमेरिकी सामानमा लगाउने करको जवाफमा समानस्तरको कर अमेरिकाले भारतीय सामानमा पनि लगाउने चेतावनी दिएका हुन्।

उनका अनुसार, अमेरिकाबाट आउने सामानमा विभिन्न देशहरूले लगाउने उच्च महसुललाई ‘रेसिप्रोकल ट्यारिफ’ प्रणालीमार्फत जवाफ दिइनेछ। ट्रम्पले भनेका छन्, “यदि कुनै देशले हामीमाथि कर थोपर्छ भने, हामी पनि उनीहरूमाथि त्यही स्तरको कर लगाउँछौँ।”

भारतको नाम उल्लेख गर्दै उनले भारतले अमेरिकी सामानमा कर बढाएमा अमेरिकाले पनि त्यसै प्रकारको कदम उठाउने बताएका छन्। ट्रम्पले “जस्तालाई त्यस्तै” को सिद्धान्तमा काम गर्ने आफ्नो नीति स्पष्ट पार्दै भारतलाई सोच्न बाध्य तुल्याउने सङ्केत गरेका छन्।

ट्रम्पको यो अभिव्यक्तिले भारतलाई नीतिगत निर्णयहरूमा पुनर्विचार गर्न दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ।