मानिस किन निन्द्रामा बोल्ने वा बर्बराउने गर्छन् ?

एजेन्सी । स्वस्थ जीवनका लागि पर्याप्त निन्द्रा अत्यावश्यक छ । जसरी निश्चित समयमा भोक लाग्छ, त्यसरी नै शरीरले निन्द्रा खोज्छ । तर, कतिपयलाई निदाउन घण्टौँ लाग्छ भने कोही क्षणभरमै निदाउँछन् । निन्द्रामा देखिने समस्याले स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ ।

निन्द्रामा बर्बराउनु पनि एउटा सामान्य तर ध्यान दिनुपर्ने समस्या हो । प्राय: मानसिक समस्यासँग जोडेर निन्द्रामा बर्बराउने समस्यालाई हेर्ने गरिन्छ, तर यो गलत हो । निन्द्राका बेला मस्तिष्क सक्रिय हुने भएकाले झस्किने, बर्बराउने जस्ता समस्या देखा पर्छन् ।

मुख्यत: मानसिक तनावका कारण निन्द्रामा झस्किने र बर्बराउने समस्या देखिन्छ । यस क्रममा व्यक्तिले डर मान्ने, पसिनाले निथ्रुक्क भिज्ने, सास फेर्न कठिनाइ हुने र बारम्बार ब्युँझिने अनुभव गर्न सक्छन् । यस्तो समस्या ठूलो दुर्घटनाको सामना गरेका व्यक्ति, बलात्कार वा हिंसाका पीडित, मदिरा र लागुऔषध प्रयोगकर्ताहरू तथा लामो समयदेखि निन्द्रा लाग्ने औषधि सेवन गरिरहेका व्यक्तिहरूमा पनि देखिने गर्दछ ।

यसको समाधानका लागि मनलाई धेरै कुरा नखेलाउन, चिन्ता नलिन र कामको बोझ घटाउन आवश्यक छ । नियमित तालिका बनाएर राति समयमै सुत्न र बिहान समयमै उठ्नुपर्छ । शयनकक्षलाई शान्त र आरामदायी बनाउनुपर्छ । साथै, शरीरलाई स्वस्थ राख्ने प्रयास गर्नुपर्छ र मदिरा तथा लागुऔषधबाट टाढा रहनुपर्छ ।

निन्द्रा लाग्ने औषधिको लामो समयसम्म प्रयोग पनि निन्द्राको समस्या उत्पन्न गर्न सक्छ, त्यसैले यसको सेवनबाट जोगिनुपर्छ । यी उपायले पनि सुधार नआएमा मनोचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।