अस्ट्रेलियाको सिड्नीमा खुल्यो बाजेको सेकुवा

सिड्नी, अस्ट्रेलिया – नेपाली परिकार र स्वादको प्रतीक ‘बाजेको सेकुवा’ अब अस्ट्रेलियाको सिड्नीस्थित मेरिल्यान्डमा सञ्चालनमा आएको छ। यो नेपाली ब्रान्डको फ्रेन्चाइजका रूपमा विदेशमा विस्तार गरिएको पहिलो उदाहरण मानिन्छ।

नेपालबाटै आयात गरिने मसला र परिकारको विशेष स्वादलाई कायम राख्दै रेस्टुरेन्टले नेपालमा उपलब्ध हड्डी सुपदेखि विभिन्न प्रकारका परिकारहरू अस्ट्रेलियामा प्रस्तुत गरिरहेको छ। अनुभवी कुकहरूले विशेष तालिम लिएर नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पस्कने प्रयास गरिएको छ।

‘बाजेको सेकुवा’को स्थापना नेपाली स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। सिड्नीमा रहेका सयौँ नेपाली रेस्टुरेन्टहरूमध्ये यसले विशिष्ट नेपाली ब्रान्डको रूपमा आफूलाई फरक ढंगले प्रस्तुत गरेको छ।

नेपाली परिकारको लोकप्रियता नेपालबाहेक अमेरिका र अब अस्ट्रेलियामा पनि बढ्दै गएको छ। बाजेको सेकुवाले नेपाली स्वादलाई मात्र नभई नेपाली संस्कृति र पहिचानलाई पनि बलियो बनाउँदै अघि बढाएको छ।

नेपाली समुदायको बाक्लो उपस्थिति भएका अन्य देश र सहरमा पनि ‘बाजेको सेकुवा’को विस्तार गर्ने योजना रहेको जनाइएको छ। यसले नेपाली परिकारको विविधता र महत्त्वलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।