अष्ट्रेलियामा केदार रायमाझीलाई  ‘लिभिङ फर अदर’ अवार्ड प्रदान

युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा अष्ट्रेलियाको जर्ज स्ट्रीट, चिपेनडलमा आयोजित विशेष समारोहमा केदार रायमाझीलाई समाजसेवामा गरेको अतुलनीय योगदानको लागि ‘लिभिङ फर अदर’ अवार्ड सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा विभिन्न धर्म, संस्कृति, र समुदायका प्रतिष्ठित व्यक्तिहरूको सहभागीता रहेको थियो।समारोहमा नेपाली समुदायको सेवाभाव र सामाजिक योगदानको विशेष प्रशंसा गरियो।

न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्यदूतले रायमाझीलाई सम्मान प्रदान गर्दै उनीबाट प्रेरित हुने कुरामा जोड दिएका थिए । यस सम्मानले समाजमा भाइचारा र सहयोगको भावना थप प्रबल बनाउने विश्वास गरिएको छ। रायमाझीले आफ्नो सेवामूलक कार्यबाट समाजमा सकारात्मक प्रभाव पुर्‍याउन सफल भएका छन्।

नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ । सन् २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन् । ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याएका छन् । साथै, सिड्नीको गस्पेल नेपाली चर्च का प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।। पत्रकारितामा पनि सक्रिय रहेका रायमाझी बचन न्यूजका सम्पादक तथा प्रकाशकको भूमिकामा योगदान दिइरहेका छन्।

समारोहमा युपीएफ ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस सम्मानले रायमाझीको निस्वार्थ सेवाको मूल्यांकन गर्दै समाजसेवामा थप ऊर्जा दिने अपेक्षा गरिएको छ। उनको योगदानले नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाएको छ।