बीबीसी । प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने बताएका छन् ।
खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन् ।
उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर, हार्डवेअरमा सहजै पाइने भएकाले आँप र केरालाई पकाउन त्यसको प्रयोग गरिने गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसीलाई बताइन् । नेपालमा फलफूलको क्षेत्रफलमध्ये आँपले झन्डै ५० हजार हेक्टर भूभाग ओगटेको अधिकारीहरू बताउँछन् ।
आँपलाई पकाउन के गर्ने गरिएको छ ?
राष्ट्रिय फलफुल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल प्राकृतिक रूपमा आँप पक्ने समय भइनसकेको भन्दै अहिले बजारमा पाइने आँप खादा ध्यान दिनुपर्ने बताउँछन् ।
उनी भन्छन्, “नेपालमा अहिले आँप पाक्ने बेला भइसकेको छैन् । अलि चाँडै फल्ने आँपका प्रजातिहरू पनि भट्टीबाट धुँवा नै लगाए पनि प्राकृतिक ढङ्गले पाक्ने भनेको जेठ अन्तिमतिर मात्रै हो । त्यही भएर क्याल्सियम कारबाइड राख्यो भने आँपहरू पाक्ने र रङ्गहरू आउने हुन्छ ।”
उनले क्याल्सियम कारबाइड प्रयोग गरिएका आँपले स्वास्थ्यमा असर गर्ने भएकाले आफूहरूले उपभोक्ता र व्यवसायीहरूलाई त्यस्ता आँप नखान अनुरोध गर्ने गरेको बताए ।
बरालले थपे, “बजारमा कति जनाले सुई हानेर आँप पकाएको पनि भन्नुहुन्छ, तर त्यस्तो होइन् । क्याल्सियम कारबाइडको चलन एकदमै छ । हाम्रो तराई र अझ विशेषगरी भारतबाट आउने आँपमा त्यस्तो देखिन्छ ।”
आँप र केराजस्ता फलफूल पकाउन प्रयोग गरिने क्याल्सियम कारबाइडले मधुमेह, क्यान्सरजस्ता समस्याको जोखिम बढाउने अध्ययनहरूले देखाएका छन् ।
स्वास्थ्य विज्ञका अनुसार उक्त रसायनले स्नायुप्रणालीदेखि श्वासप्रश्वास प्रणालीसम्म असर गर्ने अध्ययनहरूले देखाएका छन् । उपभोक्तालाई कम हानि सुनिश्चित गर्नका लागि फलफूल पकाउन तिनलाई भट्टीमा राख्ने प्रणाली स्थापना गरिएको वरिष्ठ बागवानी अधिकृत बराल बताउँछन् ।
उनले भने, “फलफूलको थोक बजारमा केरा र आँपलाई भट्टी लगाउने भनेर भन्ने गरिन्छ । त्यसो गर्दा २४ घण्टाजति धुँवा लगाउने र त्यसपछि गुम्साएर राख्ने गरिन्छ । त्यसपछि रङ्ग पनि आउँछ र पाक्छ पनि । त्यो क्यालसियम कारबाइड प्रयोग गर्नुभन्दा कम हानिकारक हो ।”
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यका अनुसार क्यालसियम कारबाइड झन्डैझन्डै ‘चुन जस्तै हिसाब’ले सस्तोमा पाइने भएकाले त्यसको प्रयोग उच्च रहेको जनाए । त्यसबाहेक एथिलीनको प्रयोग गरेर पनि आँप पकाउने गरिएको उनले बताए ।
उनले भने, “पकाउनका लागि प्राविधिक रूपमा सिफारिस गरिएको एथिलीन हो । त्यसले एकदमै धेरै स्वास्थ्यमा असर गर्छ जस्तो लाग्दैन ।”
कृत्रिम रूपमा पकाइएका आँप खाँदा के ध्यान दिनुपर्छ ?
विज्ञहरूले प्राकृतिक रूपमा पाकेका आँप खानु नै सबैभन्दा उपयुक्त हुने बताउने गरेका छन् । उनीहरूका भनाइमा कृत्रिम रूपले पकाइएका आँप खाँदा सावधानी अपनाउनुपर्छ ।
वरिष्ठ बागवानी विकास अधिकृत बराल भन्छन्, “हामी मानिसहरूलाई भोलि बिहान आँप खानुछ भने आँपको भेट्नोलाई काटेर पानीमा २४ घण्टा राख्नुपर्छ भनेर सुझाव दिन्छौँ । त्यसो गर्दा त्यो रसायनको असर कम भनेर भन्ने गर्छौँ ।”
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख आचार्यले उपलब्ध भएसम्म क्लोरिन पानीको प्रयोग गरी आँपलाई त्यसमा डुबाउनुपर्ने बताए । उनले भने, “नुन-पानी नै प्रयोग गर्यौँ भने पनि एक किसिमले त्यसले काम गर्छ । खाँदा पनि बोक्रा फ्याल्ने गर्नुपर्छ । कृषक र उपभोक्ता दुवैलाई कारबाइड प्रयोग नगर्ने विषयमा अझ जानकार बनाउनु जरुरी छ ।”
जानकारहरूका अनुसार आँप फुलेपछि फाल्न पाक्न साधरणतया तीनदेखि पाँच महिना लाग्ने गर्छ । आँपमा लागेका फुलहरूमध्ये ९९.९ प्रतिशत झरेर जाने र साधरणतया ०.१ प्रतिशत फूलबाट आँप फल्ने राष्ट्रिय फलफुल विकास केन्द्रले प्रकाशित गरेको आँप खेती प्राविधिक पुस्तिकामा उल्लेख छ ।
आचार्य थप्छन्, “अहिले अचार बनाउने तहमा पनि पुगेको छैन् । अब भित्र नछिप्पिएको तर बाहिर पाकेको आँप पनि आउँछ । अफ सिजनको फलफूलमा आकर्षित हुँदा त्यसमा हर्मोन, विषादी वा अरू चिज प्रयोग भएको हुन्छ । त्यही भएर सिजनको प्रयोग गर्नु राम्रो हो । किनभने त्यसमा विषादी कम हुन्छ ।”
क्यालसियम कारबाइडको प्रयोग रोक्न के गरिएको छ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्य नेपाल र भारतमा आँप र केरा जस्ता फलफूलमा जनस्वास्थ्यमा नकरात्मक असर पार्ने क्यालसियम कारबाइड प्रयोग गर्ने गरिएका विवरणहरू आउने गरेका बताउँछिन् ।
उनले भनिन्, “त्यसमा हेभी मेटलको अवशेषहरू हुने भएकाले तिनले स्वास्थ्यलाई गम्भीर असर गर्ने ठानिन्छ । नेपालमा खाद्य पदार्थमा क्यालसियम कारबाइडको प्रयोगमा प्रतिबन्ध नै लगाइएको छ । भारतमा पनि यो प्रतिबन्धित छ ।” उनका अनुसार उक्त कालो रसायन आँपमा छर्कने गरिने र त्यसले गर्दा सो फललाई एकछिन गुम्म गरेपछि भोलिपल्टै पाक्ने गर्छ ।
क्याल्सियम कारबाइडलाई प्रतिबन्धित गरिएकाले खाध्य निरीक्षकहरूले त्यसलाई प्रयोग गर्ने कृषक र व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सक्ने जोशी सुनाउँछिन् । एसिटिलिन ग्यास उत्सर्जन प्रयोग गरिने क्याल्सियम कारबाइड स्टीलको उत्पादन र धातुलाई काट्नलाई प्रयोग गरिने बताइन्छ ।
नेपालमा कहाँ कहाँ आँप फल्छ ?
आर्थिक वर्ष २०७९/८० को आँकडा अनुसार नेपालमा ५२,४४९ हेक्टर क्षेत्रफलमा आँप लगाइएकोमा ५ लाख १३ हजार मेट्रिक टन उत्पान भएको थियो । त्यसको एक वर्षअघि झन्डै ५३ हजार ५ सय हेक्टर क्षेत्रफलमा आँप रहेकोमा ४ लाख ९८ हजार ८५९ मेट्रिक टन उत्पादन भएको थियो ।
राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत बराल नेपाभित्रको उत्पादनले मुलुकको आँपको माग एक महिना पनि धान्न नसक्ने बताउँछन् ।
उनका अनुसार नेपालमा खपत हुने अधिकांश आँप भारतबाट आउने गर्छ । नेपालमा २४ जिल्लामा व्यवसायिक रूपमा आँप खेती हुने गर्छ र सबैभन्दा बढी उत्पादन मधेश प्रदेशमा हुने गरेको अधिकारीहरू बताउँछन् ।
नेपालमा अगौटो, मध्यम र हाइब्रिड गरी डेढ दर्जनभन्दा बढी प्रकारका आँपहरू फल्ने गर्छन् । आँपका ५ देखि ६ वर्षका बोटहरूमा २० देखि ३० वटा फल लाग्ने बताइन्छ ।
बाह्र वर्ष नाघेका बोटमा प्रति वर्ष २,५०० वटा आँप फल्न सक्ने र २० वर्षभन्दा बढी उमेरका बोटबाट २,००० देखि ४,००० आँप प्रतिबोट फल्न सक्ने राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको छ ।