स्मिता दाहालले चाँडै लगनगाँठो कस्दै, को हुन् प्रचण्डका हुनेवाला नातिनी ज्वाइँ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी, गायिका स्मिता दाहाल वैवाहिक जीवनमा बाँधिन लागेकी छन् । उनले आफ्नो प्रेमीसँग विवाह गर्न लागेकी हुन् । स्मिताले श्रेष्ठ थरका युवकसँग विवाह गर्ने तयारी गरेकी हुन् ।

केही समयअघि मात्र उनले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमीलाई सार्वजनिक गर्दै साथीबाट सुरु भएको सम्बन्ध प्रेम हुँदै अब जीवनभरका लागि साथ बन्न लागेको खुलाएकी थिइन् ।

स्मिताले सामाजिक सञ्जालमा अंग्रेजीमा लेखेको सन्देशमा भनिएको छ, “कलेजका सीटहरूबाट एकअर्कालाई चियाउने दिनदेखि सधैँका लागि हात समाउने योजना बनाएको यो यात्रा हाँसो, रातभरका संवाद र हामीले मात्र बुझ्ने मौनताले भरिएको छ । मेरो साथी, प्रेमी र अब जीवनसाथी । तिमीले मलाई संसारकै भाग्यमानी बनाइदियौ । म सधैँका लागि तिम्रो हुन आतुर छु ।”

स्मिता र उनका प्रेमी कलेजका सहपाठी हुन् । कलेज पढ्ने क्रममा सुरु भएको उनीहरूको प्रेमको यात्रा अहिले विवाहमा परिणत हुन लागेको हो । स्मिता, प्रचण्डकी कान्छी छोरी गंगाको पहिलो श्रीमानबाट जन्मिएकी छोरी हुन् । सानैदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी स्मिताले ‘मायालु तिमी कता छौ’ बोलको गीतमार्फत व्यापक चर्चा कमाएकी थिइन् ।