निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ

कार्तिक २८ , २०८१ काठमाडौँ: कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन ।’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई छ ।