काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतविरुद्ध खेलेको थियो, जहाँ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो। तर, तेस्रो खेलमा शनिबार युएईसँग प्रतिस्पर्धा गर्दा नेपालले १३ रनले हार बेहोरेको थियो, जसले नेपालको छनोटको यात्रा चुनौतीपूर्ण बनाएको छ।

यस छनोट प्रतियोगितामा आयोजक युएई, नेपाल, कुवेत, र थाइल्याण्ड गरी चार टोली सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्ने तालिका छ, र सबै खेलहरूको नतिजाका आधारमा शीर्ष स्थानमा रहने टोलीले मलेसियामा हुने आगामी जनवरीमा आयोजना हुने आइसीसी यू–१९ महिला टी–२० विश्वकपमा प्रवेश पाउनेछ। नेपालले अबका खेलहरूमा उच्च प्रदर्शन गर्दै छनोटमा आफ्नो स्थान सुरक्षित गर्न प्रयास गर्नेछ।





