आजदेखि दैनिक १० घण्टा बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम गरिदै

कार्तिक २३ , २०८१ काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने बताएको छ । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे पनि बनाउन लागिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

त्यसअघि विस २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलमा दैनिक आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ करिब एक सय उडान हुने गरेका छन् ।