रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, सामाजिक सञ्जालमा भ्रामक प्रचार गरियोः कास्की प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले भ्रामक सूचना प्रसारण नगर्न अनुरोध गरेको हो । 

लामिछानेको समर्थनमा केही दिनदेखि सर्वसाधारणले अनुसन्धानमा खटिएका प्रहरीबारे कपोलकल्पित र झुटा खबर फैलाइएको कार्यालयले जनाएको छ ।

“सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न कास्की अदालतमा उपस्थित गराइएका बेला प्रहरीलाई आदरार्थी शब्द प्रयोग नगरेको, हतियारसहित प्रवेश गरेको, धम्क्याएको र हिरासतमा दुर्व्यवहार गरेको भन्ने भ्रामक समाचारहरू टिकटकमा देखिएका छन्,” प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

यस्ता झुटा र तथ्यहीन समाचारले जनमानसमा भ्रम सिर्जना गर्दै अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्नसक्ने प्रहरी उल्लेख गरेको छ । साथै अनुमानमा आधारित खबर प्रकाशित नगर्न आग्रह गरिएको छ ।