आइसिसी विश्वकप लिग-२ मा आज अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

यस सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्डले भाग लिएका छन्। सिरिजको पहिलो खेलमा शुक्रबार स्कटल्याण्डले अमेरिका माथि १० विकेटको शानदार जित निकालेको थियो। नेपाल र अमेरिका दुवै टोली यस सिरिजमा दबाबमा रहेका छन् – गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र स्कटल्याण्डसँगको पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको अमेरिकाबीच प्रतिस्पर्धा निकै चुनौतीपूर्ण हुने देखिएको छ।

नेपालले यसअघि क्यानडा र ओमान सम्मिलित सिरिजमा तीन खेलमा पराजित भई एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक मात्र जोडेको थियो। त्यस्तै, घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबियासँगको लिग टु सिरिजमा नेपालले एकमात्र खेल जित्दै ३ अंक मात्रै जोड्न सकेको थियो। हालसम्म लिग टु मा ८ खेल खेलिसकेको नेपाल ८ टिममध्ये सातौं स्थानमा रहेको छ भने ९ खेलबाट १२ अंकसहित अमेरिका दोस्रो स्थानमा छ।

नेपाल र अमेरिकाबीचको पछिल्ला पाँच ओडिआई खेलमा दुवै टोलीले २-२ खेल जितेका छन्, र एक खेल बराबरीमा टुंगिएको थियो। पछिल्लो पटक जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो, जसले गर्दा नेपाल आजको खेलमा आफ्नो प्रदर्शन दोहोर्याउन प्रयासरत रहनेछ।

नेपालका लागि यो सिरिज एकदिवसीय क्रिकेटमा पुनरागमनको राम्रो अवसरका रूपमा रहेको छ। टी२० आई सिरिजमा अमेरिकाविरुद्ध ३-० को जित निकालेपछि आत्मविश्वासमा वृद्धि भएको कप्तान रोहित कुमार पौडेलले बताउँदै आएका छन्।

रोहितको कप्तानीमा १५ सदस्यीय टिममा सन्दीप लामिछानेको पुनरागमन भएको छ भने सागर ढकाल र देव खनाललाई रिजर्भमा राखिएको छ।