लण्डन – ३१ वर्षीय गायक लियाम पेन, जो लोकप्रिय ब्यान्ड ‘वान डाइरेक्सन’ का सदस्य थिए, उनको अर्जेन्टिनाको ब्युनोस आयर्सस्थित एक होटलमा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार उनी होटलको तेस्रो तल्लाबाट खसेका थिए। घटनास्थलमा आपतकालीन सन्देशपछि प्रहरी पुग्दा लियामको शव फेला परेको हो।
लियाम पेनले सन् २०१० मा ‘एक्स फ्याक्टर’ शोबाट चर्चा पाएर ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियल होरान र जायन मलिकसँग मिलेर ‘वान डाइरेक्सन’ ब्यान्ड स्थापना गरेका थिए। यो ब्यान्डले थुप्रै हिट गीत र एल्बमहरू निकालेर विश्वव्यापी ख्याति कमाएको थियो।

घटनाको केही घण्टाअघि मात्र लियामले स्न्यापच्याटमा अर्जेन्टिनामा रमाइलो गरिरहेको पोस्ट गरेका थिए। प्रहरीको प्रारम्भिक रिपोर्टमा उनलाई सम्भावित रक्सी र लागुऔषधको प्रभावमा रहेको बताइएको छ, तर थप अनुसन्धान भइरहेको छ।