असोज १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताहरूले फिल्मको प्रचार अभियानअन्तर्गत एक प्रतियोगिताको घोषणा गरेका छन्। फिल्मको थिमअनुसार, बेहुली हुँदाको अनुभव लेखेर पठाउने प्रतिस्पर्धीमध्ये उत्कृष्ट लेखकलाई आकर्षक पुरस्कार प्रदान गरिने छ।
फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले जनाएअनुसार, रोचक शैलीमा लेखिएका कथाहरुबाट उत्कृष्ट लेखकलाई फिल्मको प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट, र विशेष पुरस्कार प्रदान गरिनेछ। कथा पठाउन असोज १० गतेदेखि खुला गरिनेछ।

यो फिल्म सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशनमा निर्माण भएको हो। स्वस्तिमा र निश्चल बस्नेत दम्पतीले फिल्म निर्माण गरेका छन् भने कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्।
फिल्ममा स्वस्तिमासँगै निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, र रक्षा थापाको अभिनय छ।
प्राविधिक पक्षमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, र निमेष श्रेष्ठको सम्पादनले फिल्मलाई बलियो बनाएको छ।





