नेपाली गजल साहित्यलाई प्रवासमा प्रोत्साहित गर्न र यसको विकासमा योगदान पुर्याउँदै आएको गजल मुशायरा परिवारले सेप्टेम्बर २२, आइतबार, सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना गर्ने भएको छ। नेपाली गजलको विकासमा विशेष स्थान बनाउँदै आएको यो कार्यक्रम युगकवि मोतीराम भट्टको १५९ औं जयन्तीको अवसरमा हुन लागेको हो।
सन् २०१४ मा सिड्नीमा पहिलो पटक सुरु भएको गजल मुशायरा कार्यक्रमले हालसम्म सात पटक सिड्नीमा, दुई पटक ब्रिसबेनमा, र अन्य विभिन्न स्थानहरूमा सफलता पूर्वक सम्पन्न गरिसकेको छ। यसपटकको कार्यक्रम विशेष भएर २२ जना गजलकारहरूले आ-आफ्ना दुई-दुई गजल बाचन गर्नेछन् भने गायन र नृत्यजस्ता सांस्कृतिक प्रस्तुति पनि गरिनेछ।

नेपाली साहित्यमा गजल विधाप्रतिको रुचि र चासो पछिल्लो समय प्रवासमा पनि बढ्दो क्रममा रहेको छ। गजल मुशायरा परिवारले नेपाली गजललाई विदेशमा मात्र होइन, नेपालका विभिन्न स्थानहरूमा पनि प्रवर्द्धन गर्दै आएको छ। यो शृंखला गजलप्रेमी नेपालीहरूका लागि एक साझा थलोको रूपमा विकसित भइरहेको छ, जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिरहेको छ।

यो कार्यक्रमले हालसम्म ९१० भन्दा बढी सर्जकलाई गजल लेखनमा प्रोत्साहन गरेको छ भने ९२० भन्दा बढी गजल प्रस्तुतिसहित गजल वाचन संस्कृतिको विकास गर्न सफल भएको छ। यस वर्षको मुशायरा दसौं वार्षिकोत्सवको अवसरमा आयोजना हुँदैछ, जसमा “गजल मुशायरा विशेषाङ्क २०८१” लोकार्पण गरिनेछ।
सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा हुने यो विशेष कार्यक्रममा विश्वभर छरिएका नेपाली गजलकारहरूबीच समन्वय र सहकार्यको माध्यमबाट नेपाली गजललाई अझ परिस्कृत र प्रख्यात बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।




