राहुल रेग्मीको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति गठन

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ कार्यसमितिको चयनसँगै संघको आगामी दुई वर्षको कार्यकालको नेतृत्व राहुल रेग्मीको हातमा जाने भएको छ।

नयाँ कार्यसमितिको गठन निम्नानुसार गरिएको छ:

  • अध्यक्ष: राहुल रेग्मी
  • उपाध्यक्ष: निरञ्जन पौडेल (क्यानडा), डा. मनिता राजकर्णिकार (नेपाल)
  • महासचिव: उत्तम अधिकारी (नेपाल)
  • सचिव: तेज कटुवाल (कतार)
  • कोषाध्यक्ष: सुनिल राज श्रेष्ठ (युएई)
  • मिडिया संयोजक: रामराज ओली (न्यूजिल्याण्ड)

महाधिवेशनले २९ सदस्यीय नयाँ कार्यसमितिको सदस्यहरूको चयन गरेको छ। केन्द्रीय सदस्यहरूमा केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा छेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी (पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), गजन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) समावेश छन्।

कार्यक्रमको उद्घाटन गर्दै स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनले रक्तदानलाई महादानको रूपमा मूल्यांकन गर्दै नेपालमा यसको जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिए। उनले भने, “रक्तदानको जनमानसमा स्वतस्फूर्त भावना आउनुपर्नेछ, र यसका लागि हामीले जनचेतना फैलाउन सक्नुपर्छ।”

नवनिर्वाचित अध्यक्ष राहुल रेग्मीले संघको प्रमुख उद्देश्यको बारेमा जानकारी दिँदै भने, “हाम्रो संघले अबसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरू विस्तार गर्न सफल भएको छ र ३२ भन्दा बढी देशमा रक्तदानको गतिविधिहरू सञ्चालनमा छन्।”

कार्यक्रममा स्वागत मन्तव्य बिनोद भट्टराईले प्रस्तुत गरे भने, महासचिव राहुल रेग्मीले संघको सांगठनीक र आर्थिक प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदानको महत्व र सुधार गर्नुपर्ने पक्षहरूबारे आफ्नो धारणा राखिन्।

कार्यक्रममा पूर्व अर्थ सचिव सुमन शर्मा, पूर्व सचिव धरा सापकोटा, केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लड डोनर्सका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्य, टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टरका अध्यक्ष रुद्रहरि ज्ञवाली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सर्वाधिक स्वयंसेवी महिला रक्तदाता निता घिरैया, गोयलापानी समाजका उपाध्यक्ष प्रेमभक्त रेग्मी, र गैरआवासीय नेपाली संघका प्रतिनिधि कुनाल मिश्रको सक्रिय सहभागिता रहेको थियो।

संघको मुख्य उद्देश्य भनेको विश्वभर नेपाली समुदायलाई नियमित रूपमा रक्तदानमा प्रेरित गर्नु, स्थानीय संजालहरू स्थापना गर्नु, र नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउनको लागि स्वयंसेवी रक्तदान प्रवृत्तिमा रूपान्तरण गर्नु हो।