सोह्र श्राद्ध बुधबारदेखि सुरु हुँदै, कुन तिथिको श्राद्ध कहिले ?

यस वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबारदेखि सुरु हुँदैछ । असोज २ गते पूर्णिमा तिथिको दिन प्रतिपदा तिथिको श्राद्ध गरेर सोह्र श्राद्ध आरम्भ हुनेछ । उक्त दिन पूर्णिमा तिथि बिहान ८ बजेर ४३ मिनेटसम्म रहनेछ, जसपछि प्रतिपदा तिथि (परेवा) लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध सोही दिन गरिनेछ ।

सनातन धर्म अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाइन्छ । जसका आमाबुबा दिवंगत भइसकेका छन्, उनीहरूले यस समयमा नियमपूर्वक बसेर आफ्नो पितृमध्ये एकको तिथिमा श्राद्ध गर्छन् । यदि तिथिमा श्राद्ध गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ । सोह्र तिथिहरूको समावेश हुने भएकाले यसलाई “सोह्र श्राद्ध” भनिन्छ, जसमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथि पनि समेटिने गर्दछ ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मको वा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मको तिथिहरूलाई आधार मानेर सोह्र दिनसम्म श्राद्ध गरिन्छ । यी १६ तिथिमध्ये आफ्नो पितृ दिवंगत भएको दिन श्राद्ध गर्ने परम्परा छ । सोह्र श्राद्धमा पिता (बुबा) पक्षका तीन पुस्ता र माता (आमा) पक्षका तीन पुस्तालाई पिण्ड चढाएर श्रद्धा अर्पण गरिन्छ ।

कुन तिथिको श्राद्ध कहिले ?
२ गते बुधबार– प्रतिपदा श्राद्ध
३ गते बिहीबार– द्वितीया श्राद्ध
४ गते शुक्रबार– तृतीया श्राद्ध
५ गते शनिबार– चतुर्थी श्राद्ध
६ गते आइतबार– पञ्चमी श्राद्ध
७ गते सोमबार– षष्ठी श्राद्ध
८ गते मंगलबार– सप्तमी श्राद्ध
९ गते बुधबार– अष्टमी श्राद्ध
१० गते बिहीबार– नवमी श्राद्ध
११ गते शुक्रबार– दशमी श्राद्ध
१२ गते शनिबार– एकादशी श्राद्ध
१३ गते आइतबार– द्वादशी श्राद्ध
१४ गते सोमबार– त्रयोदशी श्राद्ध
१५ गते मंगलबार– चतुर्दशी श्राद्ध
१६ गते बुधबार– औँसी श्राद्ध

यो वर्षको मघा श्राद्ध १३ गते आइतबार द्वादशीका दिन परेको छ । मातामह (मावलीका हजुरबुबा) को श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा १७ गते परेको छ ।