सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुने फिल्म ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा अनुबन्धित भएका छन्। बुधवार निर्माण समूहले औपचारिक सम्झौता गर्दै फिल्मका लागि दुवै कलाकारलाई हस्ताक्षर गराएको हो। आर्यन सिग्देल फिल्ममा एक कडा अनुशासनको ‘वार्डेन’को भूमिकामा देखिनेछन् भने परीक्षालाई विशेष भूमिकामा प्रस्तुत गरिनेछ। यसअघि यी दुईले ‘पुजार सार्की’मा एकसाथ अभिनय गरेका थिए।
निर्देशक सशान कँडेलले फिल्मको निर्देशन गर्नेछन् र छायांकन यही हप्तादेखि सुरु हुनेछ। निर्माणपक्षका अनुसार फिल्मको वितरण अधिकार बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि बिक्री भइसकेको छ। जापानमा यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले, मध्यपूर्व र मलेसियामा भने आशिष पुरुषले वितरण अधिकार प्राप्त गरेका छन्।

पहिलो ‘होस्टेल’ फिल्मले अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठ जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो, जबकि ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ र नजिर हुसेन जस्ता नयाँ कलाकारहरूलाई नेपाली फिल्ममा स्थापित गराएको थियो। अब ‘होस्टेल ३’मा पनि यस्तै सफलता अपेक्षित गरिएको छ।
माधव शर्माको लेखनमा आधारित यो फिल्मको कथा निर्देशक सशान कँडेलकै हो। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माता कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन्। सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने भेषराज गौतम फिल्मका लाइन प्रोड्युसर हुन्।
आर्यन र परीक्षासँगै फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूको अभिनय रहनेछ।
फिल्म आगामी फागुन १६ गतेबाट विश्वभर एकसाथ रिलिज हुने घोषणा गरिएको छ।