बुधबार करिब ९० मिनेट चलेको राष्ट्रपति पदको बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा वाक्युद्ध भयो, जहाँ दुवै पक्षले एकअर्काका नीतिहरूको तीव्र आलोचना गरे।
‘एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ को अन्त्यतिर, ह्यारिसले आफ्नो र ट्रम्पको अमेरिका हेराइमा धेरै अन्तर रहेको बताउँदै, “मेरो ध्यान भविष्यमा छ, तर ट्रम्प विगतको धङधङीबाट अझै अघि बढ्न सकिरहेका छैनन्,” भनिन्।
यता ट्रम्पले ह्यारिसको नीतिहरूलाई असफल र कमजोर भएको आरोप लगाउँदै, उपराष्ट्रपतिका रूपमा उनले केही ठोस उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे। ट्रम्पले भने, “अमेरिका अहिले पतनको बाटोमा छ, र अन्तर्राष्ट्रिय जगतले हामीलाई हाँसिरहेको छ।”

उनले चेतावनी स्वरूप थपे, “यदि ह्यारिस नोभेम्बरमा चुनाव जित्छिन् भने तेस्रो विश्वयुद्धको सम्भावना बढ्न सक्छ।”
बीबीसीको रिपोर्ट अनुसार, बहसमा ह्यारिसले ट्रम्पलाई निरन्तर दबाबमा राखिन्, जसले गर्दा ट्रम्पलाई रक्षात्मक अवस्थामा आउन बाध्य बनायो। ह्यारिसले ट्रम्पलाई ‘कमजोर’ नेता भन्दै आक्रामक टिप्पणी गरिन्। उनले भनिन्, “विदेशी नेताहरूले ट्रम्पलाई गम्भीर रूपमा लिँदैनन्, र उनका र्यालीमा सहभागीहरू बीचमै निस्केर जान्छन्।”
अमेरिकामा राष्ट्रपति चुनाव आगामी नोभेम्बर ५ मा हुँदै छ, जहाँ डेमोक्र्याटिक पार्टीको तर्फबाट ह्यारिस र रिपब्लिकन पार्टीबाट ट्रम्प उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्दै छन्।