नेताहरूको असफलताका कारण दर्शकले मलाई राजनीतिमा देख्न चाहन्छन् : राजेश हमाल

काठमाडौं । चर्चित नायक राजेश हमालले नेताहरूको असफलताका कारण दर्शकहरूले आफूलाई राजनीतिमा देख्न चाहेको बताएका छन् । उनले राजनीतिक दलका नेताहरूले जनतालाई सन्तुष्ट पार्ने गरी काम नगर्दा निराशा फैलिएको उल्लेख गरेका छन् ।

काठमाडौं कलिङ साहित्य महोत्सवमा बोल्दै हमालले, वर्तमान राजनीतिमा सक्रिय नेताहरूबाट खासै उपलब्धि हुन नसकेको बताए । उनका अनुसार, राजनीति राष्ट्रको मेरुदण्ड हो, र यदि राजनीतिले काम नगरे, अन्य कुनै क्षेत्रले पनि सही ढंगले कार्य गर्न सक्दैन । दर्शकले आफू राजनीतिमा प्रवेश गरे राम्रो हुने अपेक्षा राखेको उनले बताए ।

उनले भने- “मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ । यो हाम्रो राष्ट्रको बिडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ । उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ । तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन । जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने हो । तर बिडम्बना हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन ।”