“कोशी प्रदेशमा डेंगु प्रकोप: झापामा १,०६५ सङ्क्रमित, दुई जनाको मृत्यु”

झापा, कोशी प्रदेश – गत साउनदेखि हालसम्म कोशी प्रदेशमा डेंगुका १,०६५ जना सङ्क्रमित भएका छन्। यो अवधिमा झापामा डेंगु संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार, मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्।

साउन १ गतेदेखि झापामा १ सय २८ जना डेंगुबाट सङ्क्रमित भएका छन्। कोशी प्रदेशका अन्य जिल्लामा मोरङमा ५ सय ३२, झापा, धनकुटा र सुनसरीमा पनि डेंगुका केसहरू बढिरहेका छन्। ताप्लेजुङमा भने हालसम्म कुनै पनि डेंगु केस फेला परेका छैनन्।

spot_img

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार, धनकुटामा ८० र सुनसरीमा ७० जना डेंगुबाट सङ्क्रमित भएका छन्। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा ५, खोटाङमा ४ र तेह्रथुममा २ जना डेंगुबाट प्रभावित भएका छन्।

गत वैशाखदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा डेंगु फैलिन थालेको थियो। वैशाखदेखि असारसम्मको अवधिमा कोशी प्रदेशमा ३ सय ८६ जना डेंगुका केसहरू पाइएको थियो।

झापामा साउन १ गतेदेखि विर्तामोडमा ८१, दमकमा २२, हल्दिबारीमा ७ र भद्रपुरमा ५ जना डेंगुका सङ्क्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रण र रोकथामका लागि विशेष उपायहरू लागू गर्नका लागि जनसमुदायलाई सचेत गराइरहेको छ।