बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह हालै अभिभावक बनेका छन्। यो जोडीले पहिलो सन्तानको रूपमा छोरीलाई स्वागत गरेका हुन्। दीपिकालाई शनिबार मुम्बईको गिरगाउँस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले छोरीलाई जन्म दिइन्। उनको साथमा रणवीर सिंह र परिवारका अन्य सदस्यहरू पनि थिए।छोरीको आगमनले दीपिका र रणवीरको परिवारमा ठूलो खुशी ल्याएको छ। बलिउडका फ्यानहरू र अन्य सेलेब्रिटीहरूले उनीहरूलाई बधाई र शुभकामना दिएका छन्।
दीपिका र रणवीरको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो, जसले गर्दा उनीहरू प्रेममा परेका थिए। पाँच वर्षको प्रेमसम्बन्धपछि, २०१८ मा उनीहरूले विवाह गरेका थिए।यी दुईले ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’, र ‘८३’ जस्ता सफल फिल्महरूमा सँगै काम गरेका छन्। रणवीरको फिल्म ‘सर्कस’मा पनि दीपिकाले क्यामियो गरेकी थिइन्।






