फरार जीबी राईको खोजीमा मलेसिया पठाइएको प्रहरी टोली काठमाडौं फर्कियो

जीबी राईको खोजी गर्न नेपाल प्रहरीको टोली हालै मलेसिया गएको थियो। टोलीको सदस्य एक जना प्रहरी उपरीक्षक र एक जना प्रहरी नायब निरीक्षक बुधबार काठमाडौं फर्किएका छन्।

पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा सर्वसाधारणको वचत हिनामिना गरेको आरोपमा जीबी राईविरुद्ध मुद्दा दायर गरिएको छ। फरार रहेका जीबी राईलाई मलेसियामा रहेको थाहा पाएपछि नेपाल प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरी टोली पठाएको थियो।

तथापि, मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न इन्कार गरेको कारण प्रहरी कूटनीतिक प्रयास गरेका थिए, तर सफल हुन सकेका थिएनन्। यसपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ। जीबी राई मलेसियामा ‘सेकेन्ड होम’ भिसामा बस्दै गरेको खबर छ। मलेसियाली सरकारले उनलाई कुनै अपराध नगरेको, ठूलो लगानी गरेको र रोजगार दिएको व्यक्तिको रूपमा फिर्ता गर्न चाहँदैन।

स्रोतका अनुसार, जीबीले मलेसियामा ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट किनेर बसिरहेको छ भने १ अर्ब रुपैयाँभन्दा बढी रकम मलेसिया लगानी गरेको दाबी गरिएको छ।

नेपाल प्रहरीको अनुसन्धानले पोखराको सूर्यदर्शनबाट मात्रै डेढ अर्ब रुपैयाँ ठगी गरेको खुलासा गरेको छ। ठगीका लागि जीबी राईसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ, जसमा ६ जना थुनामा छन् भने अरु अझै फरार छन्।