मृत्युको हल्ला फैलिएपछि कलाकार अधिकारी भन्छन्- ‘म सकुशल घरमै छु’

काठमाडौं । कलाकार रामचन्द्र अधिकारी, जो ‘काजी साप’ भनेर चिनिन्छन्, ले आफू सकुशल रहेको पुष्टि गरेका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा उनको मृत्युको हल्ला फैलिएको थियो, जसपछि उनले यो हल्ला निराधार भएको स्पष्ट पारेका छन् ।‘बिहानदेखि नै साथीभाइ र आफन्तबाट फोनको ओइरो लागिरहेको छ । बाहिर मेरो मृत्युको हल्ला फैलिएको रहेछ,’ अधिकारीले भने, ‘तर म घरमै सुरक्षित छु ।’ कसरी र कसले यस्तो अफवाह फैलायो भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए ।

Advertisement

उनले थपे, ‘दुई वर्षअघि बिरामी हुँदा अस्पताल भर्ना भएको मेरो पुरानो फोटो प्रयोग गरेर मेरो मृत्युको हल्ला गराइएको रहेछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो भने पनि हुन्छ । किन र कसले यस्तो अफवाह फैलायो, त्यो म बुझ्न सकिरहेको छैन ।’अधिकारीको मृत्युको हल्ला शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा फैलिएको थियो । उनी हाल ‘काजी साँप’को नामले अभिनयमा चर्चित छन्, जसको परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट प्राप्त गरेका हुन् ।