नमेटिएको घाउ’ फ्लप भएपछि रमित भन्छन्- ‘नेताको अभिनयले बहिष्कारमा पर्यो’

काठमाडौं । नायक रमित ढुङ्गानाले आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको कारण फिल्ममा नेताहरूको अभिनय रहेको बताएका छन् । उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही लगायतका नेताहरूले अभिनय गरेका थिए ।

रमितले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै ‘नमेटिएको घाउ’ दर्शक र राजनीतिक दलका सदस्यहरूबाट बहिष्कृत भएको दाबी गरेका छन् । उनको भनाइमा, नेताहरूको अभिनयका कारण दर्शकले फिल्मलाई बहिष्कार गरेका हुन् । उनले फिल्ममा आफ्ना मात्र नेताहरू नभएको भन्दै राजनीतिक दलका सदस्यहरूले पनि फिल्मलाई समर्थन नगरेको बताए ।

फिल्म बहिष्कारको कारण उनले स्पष्ट रूपमा नखोल्दै भनेका छन्, ‘कमेन्ट र मेसेजमा आएको प्रतिक्रियाको आधारमा मैले यो स्ट्याटस लेखेको हुँ । तपाईँहरू पनि हेर्न सक्नुहुन्छ ।’ नेताहरू प्रति युवा पुस्ताको वितृष्णाका कारण आफूले हलबाट फिल्म छिट्टै हटाउनु परेको उनको बुझाइ छ ।

रमितले एसिड आक्रमण पीडितहरूको अनुरोधमा राजनीतिक व्यक्तित्वहरूलाई फिल्ममा समावेश गर्दा बहिष्कारको सामना गर्नु परेको बताउँदै यो घटना दीर्घकालीन रूपमा सन्देशमूलक फिल्म निर्माणमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । ‘पीडितहरूको आवाजलाई सुनाउन मैले यो फिल्म बनाएको हुँ, तर यसरी बहिष्कारमा पर्नु दुःखद हो । यसले भविष्यमा यस्ता फिल्म बनाउन कसलाई हौसला दिन्छ ?’ रमितले प्रश्न गरेका छन् ।