श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा

काठमाडौं । श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन् । न त उनीहरूले अध्ययन गर्न सक्ने विश्वविद्यालय छ, न रोजगारी छ, न बसोबासको लागि आवश्यक भिसा नै छ । शिक्षा हासिल गर्ने र काम गरेर कमाइ गर्ने उद्देश्यले रुस गएका यी विद्यार्थीहरूलाई कामले थिचेपछि उनीहरूले नियमित रूपमा कक्षा लिन सकेनन् । यस कारण, उनीहरूको भिसा नवीकरण हुन सकेन र अहिले न त उनीहरू पढ्न सकिरहेका छन्, न त काम गर्न ।

रुस जान १० लाख रुपैयाँसम्म खर्च गरेका यी विद्यार्थीहरू भिसा नवीकरण गर्न दलालहरूको सहयोग लिन बाध्य भए, तर त्यो प्रयासले झनै ठूलो धोका सहनुपर्यो । भिसा नवीकरण गरिदिने बहानामा करिब ३ करोड ५० लाख रुपैयाँ ठगी गरेर दलालहरू फरार भएका छन् । पीडित विद्यार्थीहरूको अनुसार, प्रतिविद्यार्थी १ लाख ६० हजार रुवेल (करिब २ लाख ३५ हजार रुपैयाँ) सम्म उठाइएको छ । यी ठगीमा संलग्न व्यक्तिहरूमा राजकुमार श्रेष्ठ, अरुणकुमार चौधरी र रोहण उप्रेती लगायत रहेका छन् ।

तीमध्ये ४० विद्यार्थीले रुसस्थित नेपाली दूतावासमा दलालहरूको विरुद्धमा कारबाहीको माग गर्दै आफूहरूको भिसा नवीकरणको लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । तर, दूतावासले भने यी विद्यार्थीहरूका लागि स्वदेश फर्कनु नै एक मात्र विकल्प रहेको जनाएको छ । दूतावासका प्रवक्ता सुशील घिमिरेले भने, ‘धेरै विद्यार्थीको भिसा सकिँदैछ । हामीलाई भिसा थपका लागि सहजीकरण गर्न निवेदन परेको छ । तर, भिसा अवधि समाप्त भएपछि स्वदेश फर्कनुको अर्को विकल्प छैन ।’

पीडित विद्यार्थीहरूले रुस आएपछि थप ऋणमा डुबेको र दलालद्वारा ठगिएको गुनासो गरेका छन् । दुई वर्षअघि रुस गएका एक विद्यार्थीले भने, ‘रुसमा दलालबिना केही गर्न सकिँदैन । काम खोज्ने, डेरा खोज्ने, भिसा नवीकरण गर्ने सबै कुरा दलालकै भरमा गर्नुपर्ने हुन्छ । गत वर्ष भिसा थप भयो, तर यस वर्ष भने थप गर्न सकिएन ।’