नरेश भट्टले इन्टरनेटमा खोजेका थिए– ‘श्रीमतीको मृत्युपछि अर्को विवाह गर्न कति समय लाग्छ?’

अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बसोबास गर्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना पूरा हुन लागेको छ। हत्या भएको आशंका गरिएपनि अहिलेसम्म ममता काफ्ले बारे कुनै ठोस जानकारी प्राप्त भएको छैन।

ममता काफ्ले र उनका श्रीमान् नरेश भट्टको सम्बन्धमा नयाँ खुलासासँगै घटनाको अनुसन्धान तीव्र गति लिएर अघि बढेको छ। हालैको जानकारीअनुसार, नरेश भट्टले ममता बेपत्ता हुनु भन्दा केही महिना अघि अफिसको कम्प्युटरबाट “श्रीमतीको मृत्यु भएपछि अर्को विवाह गर्न कति समय लाग्छ?” भनेर खोजी गरेका थिए। यस तथ्यको खुलासा अदालतमा अभियोजनकर्ता वकिलले गरेका छन्।

नरेश भट्टलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो। अभियोजन पक्षले ममता काफ्ले बेपत्ता भएको घटनामा नरेशको संलग्नता भएको पुष्टि गर्न थप प्रमाण प्रस्तुत गरेका छन्। नरेशमाथि श्रीमतीको शव लुकाउने आरोप समेत लागेको छ, र उनका साथीहरूले पनि उनलाई श्रीमतीमाथि दुर्व्यवहार गरेको बताएका छन्।

पछिल्लो खोज तलासमा, भट्ट दम्पतीको घरको मास्टर बेडरूम र बाथरुममा रगत फेला परेको छ, जसले ममता काफ्ले जीवित नरहन सक्ने सङ्केत दिएको छ। प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ता साराह समीले अदालतमा बताएकी छन् कि, हालसम्म शव भेटिएको छैन तर हत्या अभियोग चलाउन सकिने अवस्था रहेको छ।

हालको स्थितिमा, न्यायाधीशले नरेशलाई बिना जमानत हिरासतमा राख्न आदेश दिएका छन्। नरेशको वकिलले भने, ममता काफ्ले बेपत्ता भएपछि उत्पन्न भएको जनआक्रोश र शङ्काको आधारमा नरेशलाई फसाउने प्रयास गरिएको दाबी गरेका छन्।

यो घटनाको थप अनुसन्धान जारी रहेको छ, र ममता काफ्ले बारेको वास्तविक अवस्था थाहा पाउनका लागि प्रयास जारी छ।