काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । अन्यायविरुद्ध आवाज उठाउँदा आफूलाई नै लाञ्छित गरिएको भन्दै उनले मानव अधिकारको रक्षा गरिपाउँ भन्दै आयोगमा निवेदन दिएकी हुन् ।
न्यायका लागि आवाज उठाउँदा उल्टै लाञ्छना गर्ने, तुच्छ, हेय र अमानवीय किसिमका प्रचार प्रसार गरिएको भन्दै उनले आफ्नो मानवअधिकार र न्याय पाउने हकको रक्षा गरिदिन निवेदन मार्फत अनुरोध गरेकी छन् ।
‘के न्यायको लागि आवाज उठाउनु अपराध हो र ?’, निवेदनको विवरणमा उनले भनेकी छन्, ‘यसरी पाखुरा, पैसा र पहुँच भएकाले मात्र न्याय पाउने र आवाज उठाउनेको धतुरो झार्ने, बाँच्नै दुष्कर गराउने हो भने भोलिका दिनमा कुनै पनि महिला, बालिकाले आफूमाथि भएको अत्याचार, बलात्कार र अपराधको विरुद्ध आवाज उठाउने हिम्मत गर्ने छैनन् ।’
सामाजिक सञ्जाल, कतिपय सञ्चार माध्यम, युट्युब लगायतमा आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू प्रचार भएको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएकी छन् ।
‘यसले मेरो मात्र अस्मिता, सम्मान र संरक्षणमा आँच पुर्याएको नभइ सम्पूर्ण महिला दिदी, बहिनी र बालिकाहरुकै अस्तित्वमा ठूलो आघात पुर्याएको छ’, निवेदनमा भनिएको छ, ‘मानव अधिकार आयोग मानवताको रक्षा गर्न बनेको आयोग भएकाले म पीडित आफ्नो र सबै महिला तथा बालिकाहरूको जो बोल्न सक्नु भएको छैन, उहाँको तर्फबाट पनि न्याय र मानवअधिकारको संरक्षण होस् र त्यस्तो असत्य सामाचार प्रचार प्रसार गर्नेहरुलाई कानून बमोजिम सजायका लागि सिफारिस गरिपाउँ ।’
उनले त्यसरी आफ्नो चरित्र हत्या हुने गरी सम्प्रेषित भिडियोहरूको लिंक समेत उपलब्ध गराएकी छन् । केही युट्यबु च्यानलमा उनी देखिने सीसी टीभी फुटेज समेत सम्प्रेषित भएका थिए ।
यसअघि जिल्ला अदालत, काठमाडौंले ८ वर्ष कैद सजाय तोकेकामा उच्च अदालत, पाटनले बुधबार सन्दीप लामिछानेलाई सफाइ दिएको थियो । उच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले भने लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ । आसन्न टी-२० विश्वकपमा उनलाई सहभागी गराउने गरी क्यानले तयारी गरेको छ । तर उच्च सरकारी वकिलको कार्यालयले भने पूर्णपाठ आएलगत्तै सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने तयारी गरेको छ ।





