मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

अफ्रिकाका केही भागमा ‘एमपक्स’ रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा समेत व्याख्या गरेको हो ।अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले पनि द्रुत रूपमा फैलिरहेको रोगको नयाँ प्रकार र उच्च मृत्यु दरमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन्।जब ज्वरो उच्च हुन्छ त्यसपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र पैतालामा बढी देखिन्छ।बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।यसको सङ्क्रमणबाट आउने बिमिरा १४ देखि २१ दिनमा आफैँ निको भएर जाने हुन्छन्।तर गम्भीर बिरामीहरूमा शरीरभरि नै बिमिराहरू आउने हुन्छन्। मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दुख दिने हुन्छ।

एमपक्सका अधिकांश सङ्क्रमणहरू यौन क्रियाकलापमा सक्रिय मानिसहरूमा र समलिङ्गीसँग यौन संसर्गमा संलग्न पुरुषहरूमा देखिएको छ।धेरै यौन जोडी बनाएका वा नयाँ जोडी बनाउनेहरू पनि यसको जोखिममा हुन्छन्।एमपक्सको लक्षण भएका मानिसहरूसँग निकट रहेका मानिसहरू र स्वास्थ्यकर्मी तथा उनीहरूका परिवारका सदस्यहरू पनि जोखिम रहन्छन्।

एमपक्स सङ्क्रमित मानिसहरूसँग निकट सम्पर्कमा नआउन मानिसहरूलाई सुझाव दिइएको छ। आफ्नो समुदायमा भाइरस फैलिएको अवस्थामा बारम्बार साबुन पानीले हात धुन भनिएको छ।यसबाट निको भए पनि १२ हप्तासम्म यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ।

स्रोत: बिबिसी