क्यानबेरा, अस्ट्रेलिया – नेपाल सरकारको ताजा परिवर्तनसँगै अस्ट्रेलियाका लागि नेपाल सरकारका राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएपछि राजधानी क्यानबेरामा एक विशेष विदाई कार्यक्रम सम्पन्न भएको छ। सन् २०२२ मा नियुक्त भएका राजदूत पोखरेलले अस्ट्रेलियाका गभर्नर-जनरल डेविड हर्लेलाई आफ्नो परिचय पत्र पेश गर्दै आफ्नो कार्यकाल सुरु गरेका थिए, जसले दुई देशबीचको आपसी सम्मान र सहयोगलाई अझ बलियो बनाएको थियो।
राजदूत पोखरेलले दुई वर्षभन्दा लामो कार्यकालमा अस्ट्रेलिया र न्युजिल्यान्डसहित अन्य प्रशान्त राष्ट्रहरूमा नेपालका गैर-आवासीय राजदूतको रूपमा महत्वपूर्ण भूमिका निभाएका थिए। विशेषगरी, नेपाली विद्यार्थी र समुदायसँगको नजिकको सम्बन्धमा उनले ठूला चुनौतीहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान गरेका थिए। पासपोर्ट नवीकरण, तिजफ्टा सम्झौता, र अन्य कूटनीतिक समस्याहरूको समाधान गर्दै उनले नेपाली विद्यार्थी र अस्ट्रेलियामा रहेका नेपाली समुदायको पक्षमा उल्लेखनीय योगदान पुर्याएका थिए।
उनकी श्रीमती वसुन्धरा पोखरेलले पनि अस्ट्रेलियामा रहेका नेपाली महिलाहरूको सहयोगमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। पहिलो पटक कुनै राजदूतको श्रीमतीले नेपाली समुदायका महिलाहरूसँग यसरी प्रत्यक्ष रूपमा काम गरेकोमा उनले विशेष प्रशंसा पाएकी थिइन्।
हालै, नेपाल सरकारको नयाँ नेतृत्वका कारण राजदूत पोखरेललाई फिर्ता बोलाइएसँगै, उनी २५ तारिख नेपाल फर्किन लागेका छन्। यस अवसरमा क्यानबेरामा ‘द चिम्नी नेपालीज रेस्टुरेन्ट’मा एक विशेष विदाई कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा एनआरएनए, एनएफएस, एसएसए, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठान, ओएनएफ, एनपीपीएफ, सीएनएफसी, फेएनसीएए, तमाङ घेदुङ क्यानबेरा, सीएनसी (अभिषेक उप्रेती), सीएनभीसी (राई कुमार केसी), गुठी क्यानबेरा, जनसम्पर्क समिति ,नेपाफ (NEPAFE) लगायतका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस विदाई कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले राजदूत पोखरेलको कार्यकालको सराहना गर्दै अस्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । केही वक्ताहरूले सरकार परिवर्तनसँगै राजदूतहरूको अदलाबदलीले पार्ने सम्भावित नकारात्मक प्रभावहरूको बारेमा पनि आफ्ना विचार व्यक्त गरे। कार्यक्रममा राजदूत पोखरेललाई खादा ओढाएर सम्मानित गरियो र उनले आफ्नो कार्यकालका अनुभवहरू साझा गर्दै नेपाली समुदायको एकताको प्रशंसा गरे।
विदाई कार्यक्रममा उपस्थित सबै नेपाली संघसंस्थाहरूले राजदूत पोखरेललाई मायाको चिनो प्रदान गर्दै, नेपाली समुदायप्रतिको उनको योगदानको उच्च मूल्यांकन गरेका थिए। यस विदाई कार्यक्रमले नेपाली समुदायको एकता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
क्यानबेरामा आयोजना गरिएको यो विदाई कार्यक्रम नेपाली समुदायका विभिन्न संघसंस्थाहरूको सामूहिक सहभागितामा गरिएको नेपाल महोत्सवपछिको पहिलो महत्वपूर्ण कार्यक्रम थियो, जसले नेपाली समुदायको एकता र सहयोगलाई झल्काएको छ।