काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आज आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।
उनले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरू राख्नुहोला । तर, नेता र मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला, सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन्, उनीहरू राष्ट्रको सेवाभन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरू अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ, त्यो बाटो नहिँड्नु होला ।’

उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानुनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए । उनले भने, “पछिल्ला दिनहरूमा हामीले केही गम्भीर चुनौतीको सामना गरिरहेका छाँै । राजस्व परिचालनका दृष्टिकोणले हामीले लक्ष्य भेट्न गर्न अफ्ठ्यारो परिरहेको छ । बेरुजु बढिरहेको छ । लेखा प्रणालीमा हामी दुरुस्त हुन सकिरहेका छैनौँ । महालेखा परीक्षण कार्यालयका सामुन्नेमा लेखा परीक्षणका अनगिन्ति एजेण्डाहरु थपिएका छन् । पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरु राख्नुहोला ।”





