के धेरै चिनी खाँदा आँखाको ज्योति गुम्न सक्छ ?

एजेन्सी । खानेकुरामा अत्यधिक मात्रामा स्वास्थ्यका लागि हानिकारक मानिने दुई वटा चिनी र नुन हुन् । अत्याधिक नुनका कारण रक्तचाप र मुटु सम्बन्धी समस्याको जोखिम हुन्छ भने चिनीका कारण मधुमेह लगायत अन्य धेरै दीर्घकालीन रोगको जोखिम हुन्छ । तर, के तपाईलाई थाहा छ चिनी बढी भएको खानेकुरा खाँदा पनि आँखामा नकारात्मक असर पर्न सक्छ ।

स्वास्थ्य विज्ञहरू भन्छन् कि चिनी खाँदा मधुमेहको जोखिम बढ्छ, यस बारे पनि धेरै चर्चा भएको छ । जसका कारण आँखा जस्ता संवेदनशील अंगलाई पनि ख्याल नगरेमा नराम्रो असर पर्न सक्छ । यति मात्र होइन मिठाईको अत्याधिक सेवनले तपाईको आँखाको ज्योति पनि जान सक्छ ।

धेरै मात्रामा चिनीको सेवन हानिकारक
स्वास्थ्य विज्ञहरू भन्छन्, हामीमध्ये अधिकांशले दिनहुँ निर्धारित मात्राभन्दा बढी चिनी खपत गरिरहेका हुन्छौँ । अत्यधिक चिनीले तपाईको आँखा लगायत तपाईको समग्र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउन सक्छ । अध्ययनहरूले चिनीलाई आँखाका धेरै गम्भीर अवस्था र रोगहरूसँग पनि जोडेको छ ।

चिनीको अत्याधिक सेवनले रगतमा चिनीको मात्रा बढ्न थाल्छ, जसले आँखाको नसालाई हानि पुर्‍याउँछ र सूजनको जोखिम पनि बढाउँछ, जसले आँखा सम्बन्धी धेरै रोगहरूको जोखिम बढाउँछ ।

अत्यधिक चिनीको कारण मधुमेह रेटिनोप्याथीको जोखिम
वैज्ञानिकहरूले धेरै अध्ययनहरूमा देखाएका छन् कि अधिक चिनी (सेतो चिनी, मीठो पेय पदार्थ र खानाहरू) ले समयको साथमा मधुमेह रेटिनोप्याथीको जोखिम बढाउँछ । मधुमेह रेटिनोप्याथी एक जटिलता हो जुन टाइप १ र टाइप २ मधुमेह भएका मानिसहरूमा हुन्छ ।

यदि यसको उपचार नगरियो वा चिनीको मात्रा अनियन्त्रित रह्यो भने, यसले दृष्टि गुमाउन वा अन्धोपन निम्त्याउन सक्छ । डायबेटिक रेटिनोप्याथीमा रगतमा चिनीको मात्रा बढेपछि रेटिनामा रहेका नाजुक साना रक्तनलीहरू बिग्रन थाल्छन् । कतिपय मानिसमा यसले रगत बग्ने र आँखा भित्र दाग पनि निम्त्याउँछ ।

ग्लुकोमाको शिकार
अत्याधिक चिनी खानेहरूमा आँखा सम्बन्धी अर्को रोग ग्लुकोमाको जोखिम पनि उल्लेखनीय रूपमा बढ्छ । उच्च रक्त शर्करा र अनियन्त्रित इन्सुलिन स्तरले आँखामा रक्त नलीहरू साँघुरो हुन सक्छ र तरल पदार्थ निर्माण गर्न सक्छ ।

यो समस्यालाई समयमै ध्यान दिएन भने ग्लुकोमा हुने खतरा पनि बढ्छ । ग्लुकोमाको अवस्थामा, आँखामा उत्पादन हुने तरल पदार्थले भित्रको दबाब बढाउँछ, जसले अप्टिक नर्भमा क्षति पुग्ने जोखिम निम्त्याउन सक्छ ।

के भन्छन् डाक्टर ?
तपाईलाई मधुमेह होस् वा नहोस्, खानामा चिनीको मात्रा नियन्त्रणमा राख्नु जरुरी रहेको स्वास्थ्य विज्ञहरु बताउँछन् । चिनी बाहेक मीठो पेय पदार्थ, चिसो पेय पदार्थ र स्पोर्ट्स ड्रिंक्सले पनि चिनीको मात्रा र आँखाको समस्याको जोखिम बढाउँछ ।

वयस्कहरूले प्रति दिन २५/३० ग्रामभन्दा बढी चिनी वा अन्य मिठा वस्तुहरू सेवन नगर्नुहोस् । यसका साथ साथै हरेक वर्ष आँखाको जाँच गराइरहनु जरुरी छ जसले गर्दा आँखा सम्बन्धी कुनै पनि प्रकारको समस्याबाट बच्न सकिन्छ ।