अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन सिड्नीमा: नेपालमा लगानीको नयाँ अवसरहरूबारे छलफल

अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सले आउँदो डिसेम्बर २०२४ मा सिड्नीमा ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना गर्ने तयारी गरेको छ। यो सम्मेलनले अस्ट्रेलियाका लगानीकर्ताहरूलाई नेपालमा रहेको लगानीका सुनौलो अवसरहरूबारे जानकारी गराउँदै, विदेशी लगानी भित्र्याउन हाल देखिएका चुनौतीहरूको समाधानका उपायहरूमा व्यापक छलफल गर्नेछ।

अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलका अनुसार, यस सम्मेलनमा अस्ट्रेलिया र नेपाल दुवै देशका सरकारी अधिकारीहरू, प्रतिष्ठित व्यवसायीहरू, र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालबाट अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनर, र उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।

सम्मेलनको मुख्य उद्देश्य नेपालमा प्रत्यक्ष विदेशी लगानीको प्रवर्द्धन गर्नु हो। सम्मेलनमा नेपालमा लगानीका सम्भावना, क्षेत्रहरू, र तिनको प्रतिफलका बारेमा गहन छलफल हुनेछ। यसका साथै, कार्यक्रमको दौरानमा एक अस्ट्रेलियाली स्टार्टअप कम्पनीलाई सम्मान गरिनेछ, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो सम्मेलनले अस्ट्रेलियाली व्यवसायीहरूलाई नेपालमा लगानीको महत्व र फाइदाबारे प्रष्ट पार्ने मात्र होइन, नेपालमा लगानी गर्न खोज्नेहरूको लागि मार्गनिर्देशन प्रदान गर्ने लक्ष्य राखेको छ। यसले नेपालमा आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावनाको ढोका खोल्न मद्दत गर्नेछ।