काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका पर्यटकलाई अचम्मको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न नेपाल आउन आग्रह गरेका छन् ।लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्म विश्वका चुनिएका ‘भ्लगर’हरुको साहसिक यात्रामा आधारित रियालिटी शोको प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैले एकपटक भ्रमण गरेपछि फेरि नेपाल आउने बताए ।यस रियालिटी शोले हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वलाई जान्न मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको सुन्दर प्रकृतिको अवलोकन नगरे जीवन सार्थक नहुने बताए ।
प्रधानमन्त्रीले नेपालको हिमाल, प्रकृति, नदी, ताल र जङ्गल सफारीको रमाइलो हेर्न पाउँदाको आनन्द बुझाउन नसकिने बताए ।प्रिमियर शोमा लुक्ला विमानस्थललाई खतरनाक विमानस्थलका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले विश्वका सबै विमानस्थल सामान्यतया जोखिमपूर्ण अवस्थामा रहेको तर्क गर्दै लुक्ला विमानस्थलमा उच्च दक्ष र अनुभवी उड्डयन जनशक्ति खटाइएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘म धेरै पटक विमानबाट लुक्ला आएको छु, विमानस्थल साँघुरो र धावनमार्ग छोटो हुँदा पनि दैनिक ८५ उडान हुन्छन् । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । ‘लुक्ला विमानस्थलमा कुनै जोखिम छैन । विमानस्थल सुरक्षित छ ।”प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै कञ्चनजङ्घा, मकालु, छोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायतका हिमालहरू चर्चामा रहेको बताए ।
प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी दूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकार तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।श्री गुरुङले निर्देशन गरेको यस रियालिटी शोमा नेपालसहित ६ देशका १९ देखि ३० वर्ष उमेर समूहका ११ युवा भ्लगरको सहभागिता रहेको छ ।






