क्यानबेरामा नेपाली निर्यातबारे छलफल, अनुसन्धान प्रतिवेदन सार्वजनिक

क्यानबेरा, अस्ट्रेलिया

नेपाल र अष्ट्रेलियाबीचको व्यापार प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार क्यानबेरास्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा अष्ट्रेलियामा नेपालको , निर्यात , अवस्था र सम्भावनालाई समेटिएको छ ।

अनुसन्धानकर्ता देवेन्द्र गौचन, सीताराम घिमिरे र सुजन न्यौपानेले तयार पारेको प्रतिवेदनमा नेपालले अष्ट्रेलियाबाट वार्षिक १८.६ अर्ब डलरको सामान आयात गर्ने गरेको छ भने अस्ट्रेलियामा निर्यात मात्रै १ अर्ब ६ करोड डलरको रहेकोले उल्लेख्य व्यापार घाटा रहेको देखाएको छ । नेपालबाट अष्ट्रेलियामा निकासी हुने ताजा कृषि उत्पादनजस्ता सामान वीरगन्ज, कोलकाता र सिंगापुर हुँदै कम्तिमा ३० दिन लाग्ने लामो ढुवानी समयका कारण चुनौतिको सामना गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाली अदुवा अस्ट्रेलियामा निर्यात गर्दा किसानलाई फाइदा हुने तर प्राविधिक समस्याले रोकेको प्रतिवेदनले देखाएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले प्रतिवेदनलाई सुरुवाती विन्दुको रुपमा व्याख्या गर्दै निर्यातका थप अवसरहरू पहिचान गर्न थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले निर्यातको अवस्था सुधारका लागि प्रयास जारी राख्ने वाचा गरे ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रतिवेदन सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै यसले निर्यात बढाउन प्रोत्साहन हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको आगामी टिफा सम्झौता बैठकमा यस विषयमा थप छलफल हुने अपेक्षा पनि गरे ।

क्यानबेरामा भएको कार्यक्रममा सामुदायिक नेताहरू, नवनियुक्त ट्रेड कूटनीतिज्ञ सञ्जीव शर्मा र निराजन गोली र सिड्नीका विभिन्न नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो। हाल नेपालले अष्ट्रेलियामा गार्मेन्ट, गलैंचा, पास्ता चाउचाउ, हिमालयन मसला र स्न्याक्सजस्ता वस्तुहरू निकासी गर्छ भने अस्ट्रेलियाबाट वाइन र विमानका पार्टपुर्जा आयात हुन्छ। प्रतिवेदनले उच्च उत्पादन लागत, यातायात समस्या, सीमित वित्तीय पहुँच र बजार ज्ञानको कमीलाई नेपालबाट अष्ट्रेलियामा निर्यात बढाउनका लागि चुनौतीहरूको रूपमा पहिचान गरेको छ।