SEO के हो ? नेपालमा सम्भावना कतिको छ ?

काठमाडौं । अहिलेको जमाना इमेल इन्टरनेटको हो । कम्प्युटरमा एक क्लिक हानेको भरमा दुनियामा कहाँ के भइरहेछ भन्ने कुरा सबै थाहा हुन्छ अथवा कुनै ठाउँ संस्था घटनाका बारेमा जान्न र बुझ्न मन लाग्यो भने इन्टरनेट काफी छ, त्यसका लागि हामीले सर्च बक्समा के राख्ने भन्ने मात्रै थाहा हुनुपर्छ ।

वास्तवमा इमेल इन्टरनेटले यो पुरै विश्वलाई एउटै आँगन जस्तै बनाइदिएको छ । विश्वको करिव आधि भन्दा बढी जनसंख्या इन्टरनेटको प्रयोगकर्ता भइसकेका छन् । राम्रो नराम्रो पक्षसँगै यो इन्टरनेटको युग द्रुत गतिमा अघि बढिरहेको छ । यही रमाइलो दुनियामा भिजेर त्यसैलाई पेशा बनाउँदै छन्, प्रकाश खतिवडा ।

राजधानी काठमाडौंमा बस्ने खतिवडाले SEO ‘सर्च इन्जिन अप्टिमाइजेसन’को काम गर्छन् । उनले राजधानीका सय भन्दा बढी संघ संस्थाहरुको एसइओ सम्बन्धि काम गर्दै आएका छन् । जस अन्तत: उनले वेव पेज वेब साइटहरु निर्माण गर्छन्, गुगल जस्ता सर्च इन्जिनमा ती संस्थाका विवरण एवम् जानकारी पोष्ट गरिदिन्छन् । संघ संस्थाहरुले त्यो गर्नुको मुख्य कारण व्यवसाय प्रवर्द्धन नै हो । यो भनेको एक खालको विज्ञापन नै हो ।

उनी भन्छन्, ‘झनै विशिष्ट खालको प्रवर्द्धन भन्दा फरक पर्दैन । आफूलाई यो पेशामा लाग्न कोलफिट एडभेन्चर नेपाल ट्रेकिङका कार्यकारी उत्तम बहादुर अधिकारी ‘गोपी’को ठूलो हात रहेको उनी बताउँछन् । पोष्ट गर्ने मात्रै नभई ब्लग बनाउने तथा ‘कन्टेन’ लेख्ने समेत उनले गरिदिन्छन् । त्यतिमात्रै होइन, उनले अहिले यो सम्बन्धी इच्छुक व्यक्तिहरुलाई तालिम समेत दिने गरेका छन् ।

‘सदुपयोग गर्न जान्ने हो भने इन्टरनेटबाट धेरै फाइदा लिन सकिन्छ’ उनी बताउँछन्, ‘तर यसमा जोखिम पनि उत्तिकै हुन्छ ।’ पछिल्लो समयमा नेपालमा पनि इन्टरनेटको प्रयोगकर्ता ह्वात्तै बढेको देख्न सकिन्छ तर त्यसबाट फाइदा लिने जनशक्ति भने अत्यन्तै कम भएको खतिवडा बताउँछन् ।

SEO को फाइदा के हो ?
यसले संसारलाई जोड्ने एवम् व्यवसाय प्रवर्द्धन गर्ने काम गर्छ । मानौ तपाइलाई इन्डियाको एवीसी कम्पनीको बारेमा थाहा पाउनु पर्यो भने सिधै गुगलमा गएर उक्त कम्पनीको बारेमा खोज्न सक्नुहुन्छ, वेव साइट खोलेर हेर्न सक्नुहुन्छ । तपाइलाई चाहिने सबै जानकारी यहाँ उपलब्ध हुन सक्छ । त्यो काम SEO ले गरिरहेको हुन्छ ।

नेपालमा यसको स्थिति अहिले कस्तो छ ?
बढ्दो इन्टरनेट प्रयोगकर्ताहरुसँगै नेपालमा पनि धेरै आइटी सस्थाहरु खुलेका छन् । SEO सम्बन्धि काम गर्ने संस्थाहरु पनि छन् । तर, गुणात्मक काम गर्ने व्यक्ति र संस्थाको कमी नै छ ।

यस सम्बन्धि तपाइले के के काम गर्नुहुन्छ ?
मैले खासगरी वेब साइट, ब्लगहरु निर्माण गर्ने, कन्टेन तयार गर्ने, संस्थाहरुको जानकारी विवरणहरु सर्च इन्जिनमा हालिदिने आदि काम गर्छु । साथै इच्छुक व्यक्तिहरुलाई अचेल SEO बारे तालिम समेत दिने गरेको छु ।

नेपालमा SEO को सम्भावना कतिको छ ?
थुप्रै सम्भावना छ । नेपालमा पनि ठूला मात्रै होइन साना संस्थाहरुले पनि अचेल व्यवसाय प्रवर्द्धनका लागि यसको सहायता लिने प्रचलन बढ्दो छ । वास्तवमा यो सकारात्मक कुरा हो किनभने SEO को विकासले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा मुलुककै विकासमा सहयोग पुयाइरहेको हुन्छ । तर, यसमा अझै पनि आम मानिसहरुको कमजोर बुझाइ छ र यसमा सम्बन्धित कुनै पनि निकायको ध्यान जान सकेको जस्तो मलाई लाग्दैन ।