काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग इजरायली राजदूत हानान गोडरले बुधबार शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–इजरायल सम्बन्धका विविध पक्ष र आपसी चासोका विषयमा छलफल भएको थियो ।
मन्त्री डा देउवा र राजदूत गोडेरले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने विषयमा छलफल गरेका थिए ।उनीहरुले चलिरहेको सहकारी आयोजनाको प्रगतिको समीक्षा गर्नुका साथै रोजगारी, कृषि, प्रविधि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरुको खोजी गरेको डा देउवाको सचिवालयले जनाएको छ ।
मन्त्री डा देउवाले इजरायलको सहयोगको प्रशंसा गर्दै पारस्परिक विकास र विकासका लागि साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।इजरायली राजदूतले मन्त्री डा देउवालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।मन्त्री र इजरायली राजदूतले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलामा आतंकवादी समूह हमासले बन्धक बनाएका विपिन जोशीको सुरक्षित रिहाइको कामना गरेका थिए ।इजरायली राजदूतले मन्त्री डा देउवालाई एकताको रुपमा इजरायली कलाकारले बनाएको जोशीको चित्र पनि प्रदान गरेका थिए ।दुबै महानुभावहरूले साझा उद्देश्यहरू प्राप्त गर्न र आफ्ना नागरिकहरूको हितलाई अभिवृद्धि गर्न सँगै मिलेर काम गर्ने आफ्नो समर्पण दोहोर्याए का थिए ।