अस्ट्रेलियाको राजधानी क्यानबेरामा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मदिन जयन्ती मनाइने भएको छ।नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो।
आदिकवि भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सर्नुभएको थियो। हजुरबुवा श्रीकृष्ण आचार्यले भानुभक्त लाई सानै उमेरदेखि शिक्षा दिनुभएको थियो।
१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुनुहुन्थ्यो। नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाउनुभएको थियो।
आदिकवि भानुभक्त को प्रसिद्ध कृतिहरू मा प्रश्नोत्तर (वि.सं. १९१० ),भक्तमाला (वि.सं. १९१०),वधूशिक्षा (वि सं १९१९),रामायण आदि रहेका छन्।
भानु जयन्ती भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा मनाइने गरिन्छ। यो नेपाली पात्रो अनुसार असार महिनाको २९ औँ दिनमा पर्दछ। हरेक वर्ष नेपाल सरकार र नेपाली जनताका साथै विश्वभर छरिएर रहेका नेपाली भाषीले यो पर्व मनाउने गर्दछन्।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको सम्झनामा विश्वभर छरिएर रहेका नेपालीमाझ प्रचलित सांस्कृतिक पर्व समेत रहेकोले नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराले पनि उक्त कार्यक्रम आयोजना गर्न लागेको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेरा का प्रेसिडेन्ट यज्ञ अधिकारी बताउनुहुन्छ । त्यसैगरी उक्त कार्यक्रमका आयोजकले विश्वभरि नै फैलिएर रहनुभएका नेपाली बासीहरूको मन मस्तिष्क र मुटु जोड्ने नेपाली आदिकवि भानुभक्त आचार्यको २११औ जन्मजयन्ती र सांस्कृतिक कार्यक्रमको यस पावन अवसरमा सबैजनाले आफ्नो उपस्थिति जनाएर कार्यक्रमको गरिमा बढाइदिनुहुन अनुरोध पनि गर्नुभएको छ।
कार्यक्रम यही आउँदो जुलाई १२ तारिख शुक्रबार बेलुकी ६ बजेदेखि ९ बजेसम्म florey Temple hall,
81 Ratcliffe cres,florey Act 2615 हुने भएको छ