
न्यु साउथ वेल्सको दक्षिण–पश्चिमी क्षेत्र हाय (Hay) नजिक स्टर्ट हाइवेमा गरिएको नियमित सवारी जाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे हाइवे पेट्रोल टोलीले एउटा विलासी कालो एसयूभी (SUV) रोकेर चालकको सास परीक्षण (breath test) र ड्रग परीक्षण गरेको थियो।
३० वर्षीय चालकको सास परीक्षण नकारात्मक आएको तर ड्रग परीक्षणमा सकारात्मक नतिजा देखिएपछि प्रहरीले थप तलासी लिएको थियो। तलासीका क्रममा चालकको शरीरबाट केही कोकेन र नगद फेला परेपछि प्रहरीले सवारीसाधनको विस्तृत जाँच गर्यो।
सवारीभित्र गरिएको खोजतलासीमा प्रहरीले ५ किलोभन्दा बढी मेटाम्फेटामिन (आइस) र ११ किलोभन्दा बढी कोकेन, साथै १ लाख ३० हजार डलरभन्दा बढी नगद र दुई मोबाइल फोन बरामद गरेको जनाएको छ। बरामद गरिएको मादक पदार्थहरूको कुल बजार मूल्य करिब ६.३ मिलियन डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) बराबर हुने अनुमान गरिएको छ।
एनएसडब्ल्यू प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो पक्राउ ठूलो स्तरको मादक पदार्थ तस्करी र वितरण सञ्जालसँग सम्बन्धित हुनसक्छ। सवारीसाधन हाइवे हुँदै लैजानुका पछाडि ठूला उद्देश्यहरू थिए भन्ने अनुमान गरिएको छ।”
बरामद भएका पदार्थहरू फरेन्सिक परीक्षणका लागि पठाइएको र अनुसन्धान थप विस्तारमा भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकलाई तत्कालै हिरासतमा लिइएको छ र उनीमाथि ठूला व्यावसायिक मात्रामा लागुऔषध आपूर्ति तथा स्वामित्वका दुई मुद्दासहित कुल सातवटा अभियोग दायर गरिएको छ।
अदालतले उनलाई धरौटी नदिइ हिरासतमा राख्न आदेश दिएको छ। उनले अब ग्रिफिथ स्थानीय अदालत (Griffith Local Court) मा अक्टोबर २९, २०२५ का दिन पहिलो पेशीमा उपस्थित हुनुपर्नेछ।
एनएसडब्ल्यू प्रहरीले यो घटनालाई दक्षिणी क्षेत्रको पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो सवारी–आधारित लागुऔषध बरामदको रूपमा व्याख्या गरेको छ। उनीहरूले थप संलग्न व्यक्ति र वितरण सञ्जाल पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएका छन्।
प्रहरीका एक वरिष्ठ अधिकारीले भनेका छन्, “यो केवल एक सानो ट्राफिक चेक थिएन — यसले ठूलो अपराध सञ्जालको कडी फुकाउने सम्भावना देखाएको छ। हामी लागुऔषध तस्करीविरुद्ध कडा कारबाहीमा प्रतिवद्ध छौं।”





