
अष्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानीज नेतृत्वको सरकारले बिहीबार (९ अक्टोबर) Treasury Laws Amendment (Payday Superannuation) Bill 2025 फेडेरल संसदमा प्रस्तुत गरेको छ। विधेयकले नियोक्ताहरूलाई अब कर्मचारीहरूको सुपरएन्युएसन (superannuation) तलब र पारिश्रमिकको साथसाथै भुक्तानी गर्न बाध्य बनाउनेछ। नयाँ व्यवस्था सन् २०२६ जुलाई १ देखि लागू हुनेछ।
वित्तमन्त्री चाल्मर्स : “सुधारको आवश्यकता स्पष्ट र अपरिहार्य”
संघीय Treasurer जिम चाल्मर्स ले संसदमा प्रस्तुत सम्बोधनमा भने, “धेरै नियोक्ताहरूले आफ्ना दायित्व पूरा गर्छन्, तर केही गैरजिम्मेवार नियोक्ताहरूले आफ्ना कर्मचारीहरूको सुपर रकम रोकेका छन्।”
उनका अनुसार, पछिल्लो वित्तीय वर्षको तथ्याङ्कले करिब ५.२ अर्ब डलर बराबरको अनपेड सुपर रकम देखाएको छ, जुन कामदारहरूको अवकाश जीवनका लागि हुनुपर्ने थियो।
चाल्मर्सले थपे, “यो समस्या विशेष गरी कम तलब, अस्थायी र असुरक्षित रोजगारीमा रहेका कामदारहरूमा बढी देखिन्छ, जसमा धेरै महिला समावेश छन्। सुपर पनि तलब वा पारिश्रमिककै बराबरको कर्मचारी अधिकार हो, र सुपर नतिर्नु तलब चोरी (wage theft) हो।”
उनका अनुसार, नयाँ विधेयकले नियोक्तालाई बारम्बार सुपर भुक्तानी गर्न प्रोत्साहन गर्नेछ र सुपर ग्यारेन्टी चार्ज प्रणालीलाई नवीकरण गरी ढिलो भुक्तानी सच्याउने प्रक्रिया स्वचालित बनाइनेछ।
सुपर मेम्बर्स काउन्सिलको समर्थन : “अब ढिला नगरी लागू गर्नुपर्छ”
Super Members Council (SMC) ले विधेयकलाई श्रम सुधारको “गेम चेन्जर” भन्दै संसदमा शीघ्र पारित गर्न आग्रह गरेको छ।
SMC का अनुसार, सन् २०२२–२३ मा मात्र ३.३ मिलियन अष्ट्रेलियालीहरू औसत १,७३० डलर बराबरको सुपर रकमबाट वञ्चित भएका थिए, जसले अवकाश जीवनमा करिब ३० हजार डलर बराबरको घाटा पुर्याउनेछ।
संस्थाकी मुख्य कार्यकारी मिशा शुबर्ट ले भनिन्, “पे–डे सुपर विधेयक लामो समयदेखि अपेक्षित सुधार हो। अब यो कार्य पूरा गर्न समय आएको छ।”
उनका अनुसार, सुपर रकम समयमै भुक्तानी हुँदा कम्पाउन्ड ब्याज वृद्धि हुने भएकाले कामदारहरूले औसत ७,७०० डलर बढी अवकाश बचत पाउनेछन्।
यूनियनहरूको प्रतिक्रिया : “Wage Theft अन्त्यतर्फ ठोस कदम”
Australian Council of Trade Unions (ACTU) ले यो ऐनले सुपर चोरी (super theft) मा उल्लेखनीय कमी ल्याउने दाबी गरेको छ।
ACTU का सह–सचिव जोसेफ मिट्चेल ले भने, “सुपर कर्मचारीहरूको अवकाश बचत हो, नियोक्ताको होइन। तलबसँगै सुपर भुक्तानी गर्नु सामान्य र व्यावहारिक उपाय हो, जसले ठग नियोक्ताहरूलाई रोक्नेछ।”
उनका अनुसार, सुपर चोरीबाट युवा, महिला, आप्रवासी र अस्थायी कामदारहरू बढी प्रभावित हुन्छन्, जसले अन्तरपुस्तीय असमानता पनि बढाउँछ। “यदि हामी गम्भीर रूपमा यो असमानता अन्त्य गर्न चाहन्छौं भने, सुपर चोरी रोक्नु पहिलो प्राथमिकता हुनुपर्छ,” उनले भने।
साना व्यवसायका लागि तयारी र चुनौती
MYOB का मुख्य कार्यकारी पल रोब्सन ले सरकारले साना तथा मध्यम व्यवसायहरूलाई समायोजनका लागि समय र सुनिश्चितता दिएकोमा स्वागत जनाए।
उनका अनुसार, “सरकारले उद्योगको सुझाव सुनेर सात क्यालेन्डर दिनको सट्टा सात कार्यदिवसको समयसीमा राखेर व्यावहारिक दृष्टिकोण अपनाएको छ।”
त्यस्तै, Employment Hero का CEO बेन थम्पसन ले विधेयकलाई “पेरोल र अनुपालन क्षेत्रमा दशककै सबैभन्दा ठूलो सुधार” भन्दै समर्थन जनाए।
“हामीले साना तथा मध्यम व्यवसायहरूको वास्तविक अवस्था बुझ्ने कार्यान्वयन प्रणालीको लागि निरन्तर वकालत गर्दै आएका छौं,” उनले भने।
थम्पसनका अनुसार, तिनका आन्तरिक अध्ययनहरूले साना व्यवसायहरूमा करिब $124,000 बराबरको वर्किङ क्यापिटल ग्याप देखाएको छ।
“१५ प्रतिशत व्यवसायहरू अझै यसबारे अनभिज्ञ छन्, एक तिहाइले नगद सञ्चिति बढाउनुपर्नेछ, र करिब २० प्रतिशतले तलब चक्र नै परिवर्तन गर्नुपर्ने देखिएको छ,” उनले बताए।
दीर्घकालीन प्रभाव
Payday Superannuation Bill 2025 लाई अष्ट्रेलियाको श्रम, वित्तीय र सामाजिक समानता क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने सुधारको रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार, यो सुधारले कामदारको अधिकार सुनिश्चित गर्दै व्यवसाय पारदर्शिता र पेरोल दक्षता दुवै बढाउने अपेक्षा गरिएको छ।
