अष्ट्रेलियाको आवास संकटबारे संसदमा तनावपूर्ण बहस, आरबीए गभर्नर मिचेल बुलकको जवाफ

Advertisement

अष्ट्रेलियाको केन्द्रीय बैंक (Reserve Bank of Australia) की गभर्नर मिचेल बुलकले देशभर बढ्दो घरको मूल्यका लागि बैंकलाई जिम्मेवार ठहर्याउने दाबी अस्वीकार गरेकी छन्।

सेनेटमा बिहीबार बसेको बजेट सुनुवाइमा ग्रीन पार्टीका सांसद निक म्याककिमले आरबीएले कोभिडको प्रारम्भिक वर्षहरूमा ४०० अर्ब डलर मुद्रण गरी वाणिज्यिक बैंकहरूलाई उपलब्ध गराएको र त्यस रकमले आवास बजारमा अस्वाभाविक वृद्धि ल्याएको आरोप लगाएका थिए।

तर गभर्नर बुलकले भने, “मुद्रानीति आवास बजारमार्फत प्रभाव पार्छ भन्ने कुरा ठिक हो, तर अष्ट्रेलियामा घरको मूल्य वृद्धि प्रत्यक्ष रूपमा आरबीएको जिम्मेवारी होइन।”

उनले मुख्य कारण आपूर्तिको कमी रहेको बताउँदै भनिन्, “माग बढ्दा आपूर्ति त्यस अनुपातमा नबढ्दा मूल्य वृद्धिको अवस्था देखा पर्छ, तर यसमा मुद्रानीतिको सीधा दोष छैन।”

बुलकका अनुसार आवास आपूर्ति सुधारका प्रयास भइरहेका भए पनि ठोस परिणाम आउन कम्तीमा दुई वर्ष लाग्नेछ। “उच्च घनत्वका आवास अनुमति र निर्माण प्रक्रियाका कारण ढिलो हुने गर्छन्, यो कुनै छिटो समाधान हुने विषय होइन,” उनले भनिन्।

सुनुवाइमा लगानीकर्ताको भूमिका र पूँजी लाभ कर (Capital Gains Tax) मा छुट हटाउनेबारे सोधिएको प्रश्नमा बुलकले “यो विषय सरकारको नीतिगत निर्णय हो, मेरो जिम्मेवारी होइन” भन्दै कुनै टिप्पणी गर्न अस्वीकार गरिन्।

यता, लिबरल सांसद एन्ड्र्यु ब्रागले संघीय सरकारले ल्याएको फर्स्ट होम ग्यारेन्टी स्किम को प्रभावबारे सोध्दा गभर्नर बुलकले छोटो अवधिमा यसले घरको मूल्य केही बढाउन सक्ने तर मध्यम अवधिमा परिणाम आपूर्तिमा निर्भर रहने बताइन्।

spot_img