नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजाआराधना गरिदैँ

Advertisement

    आज बडादशैंको पाँचौँ दिन देवी स्कन्दमाताको विशेष पूजा आराधना गरी मनाइँदैछ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाता भगवान् कार्तिकेयकी माता हुन् । भगवान् कार्तिकेयलाई ‘स्कन्द’ नामले पनि चिनिन्छ, जसलाई ज्ञानशक्ति र कर्मशक्तिको प्रतीकका रूपमा लिइन्छ ।

    धार्मिक मान्यताअनुसार स्कन्दमाता यस्ती शक्ति हुन्, जसले व्यवहारिक ज्ञानलाई कर्ममा परिणत गर्न प्रेरणा दिन्छिन् । उनी इच्छा, ज्ञान र क्रियाशक्तिको समागम भएकी देवीका रूपमा वर्णन गरिन्छन् । शास्त्रमा भनिएअनुसार, जब इच्छा, ज्ञान र क्रियाशक्ति शिवतत्वसँग मिल्छ, त्यहाँ स्कन्दको उत्पत्ति हुन्छ । यही कारणले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक र ज्ञान–क्रियाकी स्रोतका रूपमा पूजा गरिन्छ ।

    धार्मिक ग्रन्थहरूले स्कन्दमाताको रूपलाई विशेष ढंगले चित्रण गरेका छन् । उनी पहेंलो वर्णकी, मानससिंहासनमा आसनग्रहण गरेकी र हातमा कमलको फूल धारण गरेकी देवीका रूपमा वर्णित छिन् । भक्तजनले उनीप्रति आराधना गर्दा सन्तानसुख प्राप्त हुने, भूमिमा उर्वराशक्ति बढ्ने र जीवनमा कर्मशीलता तथा विवेकको विकास हुने विश्वास गरिएको छ ।

    पूजाविधि
    स्कन्दमाताको पूजा विशेष विधिपूर्वक सम्पन्न गर्ने गरिन्छ । पूजाअघि प्रतिमा वा चित्रलाई गंगाजल वा गोमूत्रद्वारा शुद्धीकरण गर्नुपर्ने धार्मिक प्रचलन छ । त्यसपछि चाँदी, तामा वा माटोको घडामा जल भरि कलश स्थापना गरिन्छ । पूजाको चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरधारी देवी) को आवाहन गरी स्थापना गरिन्छ ।

    यसपछिको चरणमा व्रत तथा पूजनको संकल्प गरी वैदिक र सप्तशती मन्त्रद्वारा देवी स्कन्दमाता सहित सम्पूर्ण देवताको षोडशोपचार पूजा गरिन्छ । यस अन्तर्गत आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, चन्दन, दुबो, बेलपत्र, पुष्प, आभूषण, धूप–दीप, नैवेद्य, फल, दक्षिणा, आरती, प्रदक्षिणा र मन्त्रोच्चारणसँगै पुष्पाञ्जलि अर्पण गर्ने विधि अनुसरण गरिन्छ । अन्त्यमा प्रसाद वितरण गरी पूजा सम्पन्न गर्ने परम्परा छ ।

    धार्मिक विश्वास र महत्त्व
    पुराणहरूमा उल्लेख भएअनुसार, भूमिमा रहेको वीर्यबीज शक्तिबाट भगवान् स्कन्दको जन्म भएकाले देवी पार्वतीको यो रूपलाई स्कन्दमाता भनिएको हो । शिवको पसिनाबाट बनेको वीर्यबीजबाट कार्तिकेयको उत्पत्ति भएको मानिन्छ, जसकारण स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

    उनको भक्तिले जीवनमा ज्ञान र विवेकको साथसाथै कर्मशीलता र धैर्यशक्ति बढाउने विश्वास गरिन्छ । साथै, सन्तान प्राप्ति र भूमिमा उर्वराशक्ति बढाउने वरदान दिने देवीका रूपमा समेत स्कन्दमाताको आराधना गर्ने प्रचलन छ ।

    दशैंमा देवीपूजाको क्रम
    दशैंका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गर्ने प्रचलन छ । आजको दिन विशेषगरी स्कन्दमाताको पूजा आराधनाले पुण्य प्राप्त हुने, जीवनमा विवेक र कर्मदक्षता बढ्ने धार्मिक विश्वास छ ।

    यसरी, बडादशैंको पाँचौँ दिन देवी स्कन्दमाताको आराधना गरेर ज्ञान, विवेक र कर्मशक्तिको साधनासँगै सन्तानसुख, उर्वरता र जीवनमा समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।

    spot_img