
सिड्नी । अष्ट्रेलियाको प्रमुख राष्ट्रिय संगीत महोत्सव स्पिल्ट मिल्क (Spilt Milk) ले उदाउँदो गायक d4vd लाई आफ्नो Star-studded Line-up
बाट आधिकारिक रूपमा हटाएको घोषणा गरेको छ। आयोजकहरूले यस कदमलाई गायकसँग जोडिएको “विकसित भइरहेको विवादित घटनाको” कारण भन्दै सार्वजनिक गरेका छन्।
मानवीय अवशेष फेला परेपछि विवाद
गत हप्ता अमेरिकाको लस एन्जलसमा एक टेस्ला कारभित्र मानव अवशेष फेला परेपछि d4vd विवादमा तानिएका हुन्। अमेरिकी संचारमाध्यमका अनुसार उक्त कार २० वर्षीय गायक d4vd (वास्तविक नाम: डेविड एन्थनी बर्क) को नाममा दर्ता थियो।
लस एन्जलस काउन्टी मेडिकल इक्जामिनरको कार्यालयले कारभित्र भेटिएका “गम्भीर रूपमा क्षय भएका” अवशेषहरू १५ वर्षीया सेलस्टे रिभासका रहेको पुष्टि गरेको छ। रिभास २०२४ अप्रिलमा लोप भएका थिए, त्यसबेला उनी १३ वर्षकी थिइन्।
अधिकारीहरूले अवशेष लामो समयसम्म कारभित्र रहेको देखिएको जनाएका छन्। यद्यपि, d4vd लाई अहिलेसम्म पक्राउ वा आरोप लगाइएको छैन। उनका प्रतिनिधिहरूले अमेरिकी सञ्चारमाध्यम NBC लाई दिएको प्रतिक्रिया अनुसार उनी अधिकारीहरूसँग पूर्ण सहयोग गरिरहेका छन्।
स्पिल्ट मिल्कको निर्णय
महोत्सव आयोजकहरूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “गत हप्ता नै हामीले d4vd लाई हाम्रो वेबसाइट र प्रचार सामग्रीबाट हटाएका थियौं। अहिले पुष्टि गर्न चाहन्छौं कि उनी यो वर्ष स्पिल्ट मिल्कमा प्रस्तुति दिने छैनन्। हामी विकल्प स्वरूप नयाँ कलाकार ल्याउने तयारीमा छौं।”
गत हप्ता देखिनै d4vd का आगामी सबै कार्यक्रमहरू—अमेरिकी टुर, युरोपेली मञ्चहरूदेखि डिसेम्बरमा सिड्नी, मेलबर्न र ब्रिस्बेनमा तय भएका शोहरू समेत—टिकटिङ साइटहरूबाट हटाइएका छन्।
चासो र प्रश्नहरूले भरिएको वातावरण
आधिकारिक घोषणाअघि नै स्पिल्ट मिल्कका सामाजिक सञ्जालका टिप्पणी खण्डहरूमा प्रशंसकहरूले d4vd अझै लाइन–अपमा किन छन् भन्ने प्रश्न गरिरहेका थिए। धेरैले उनलाई हटाइने कि हटाइँदैन भन्ने जिज्ञासा व्यक्त गरेका थिए।
स्टार–स्टडेड लाइन–अप
यस वर्षको स्पिल्ट मिल्क डिसेम्बर ६ मा बलाराटबाट सुरु हुँदै पर्थ, क्यानबेरा हुँदै डिसेम्बर १४ मा गोल्ड कोस्टमा सम्पन्न हुनेछ। फेस्टिवलमा केंड्रिक लामार, डोइची, डोमिनिक फिक, स्कूलब्वाय क्यू, स्किन अन स्किन र सोम्बर जस्ता चर्चित कलाकारहरू सहभागी हुँदैछन्।
d4vd भने आफ्नो पहिलो एल्बम Withered को विश्व टुरमा रहेका बेला यो विवादमा तानिएका हुन्। TikTok मा भाइरल भएको उनको गीत Romantic Homicide पछि उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका थिए।
हालसम्म d4vd माथि औपचारिक आरोप लगाइएको छैन। तर मानव अवशेष फेला परेको कार उनको नाममा दर्ता भएकाले उनको नाम विवादमा आएको छ। आयोजकहरूले उनलाई लाइन–अपबाट हटाउने निर्णय सार्वजनिक गर्दै महोत्सवलाई विवादमुक्त बनाउन चाहेको संकेत गरेका छन्।





