
मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियास्थित विश्वप्रसिद्ध प्राकृतिक गन्तव्य ‘Twelve Apostles’ भ्रमण गर्न आउने पर्यटकलाई शुल्क तिर्नुपर्ने प्रस्ताव सार्वजनिक भएको छ। भिक्टोरियन पर्यटन बोर्ड र Corangamite Shire Councilले प्रस्तुत गरेको योजनामा राज्य सरकारले यसलाई “एक पुस्तामै प्राप्त हुने अवसर” भन्दै अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ।
शुल्क प्रणालीको उद्देश्य
संयुक्त विज्ञप्तिमा भनिएको छ, प्रस्तावित शुल्क प्रणाली (user-pays model) बाट संकलन हुने रकमलाई पूर्वाधार विकास, वातावरणीय संरक्षण, सामुदायिक हित र पर्यटक अनुभव सुधारमा लगानी गरिनेछ।
GORRT का अध्यक्षले भन्नुभयो , “सचेत ढंगले लागू गरिने यस्तो प्रणाली न्यायसंगत मात्र होइन, दीर्घकालीन रूपमा अपरिहार्य पनि हो। यसले वर्षभरि भीड व्यवस्थापन, सन्तुलित भ्रमण प्रवर्द्धन, रात्रीवास प्रोत्साहन र तटीय वातावरणको संरक्षणमा प्रत्यक्ष योगदान पुर्याउनेछ।”
लगानी र योजनाहरू
शुल्क संकलनमार्फत करिब १२६ मिलियन डलर बराबरको लगानी जुटाइने योजना छ। यस अन्तर्गत नयाँ भिजिटर सेन्टर निर्माणसहित सम्पूर्ण Twelve Apostles Precinct को स्तरोन्नति गरिनेछ।
बढ्दो पर्यटक दबाब
प्रत्येक वर्ष करिब ६.८ मिलियन पर्यटक ग्रेट ओसियन रोड हुँदै यात्रा गर्छन्, जसमा करिब २ मिलियन पर्यटक विशेष रूपमा Twelve Apostles अवलोकनका लागि पुग्छन्। बढ्दो भीडले वातावरणीय संवेदनशीलता र स्थानीय पूर्वाधारमा चाप सिर्जना गरिरहेको भन्दै, दीर्घकालीन समाधानका लागि शुल्क प्रणालीलाई आवश्यक ठानिएको हो।
हाल शुल्क दर र संरचना सार्वजनिक गरिएको छैन। तर प्रस्तावमा tier-based system (सिजन वा अवधि अनुसार फरक शुल्क) को संकेत गरिएको छ। भिक्टोरियन पर्यटन बोर्डले यसलाई साहसी निर्णयका रूपमा अघि बढाउन आग्रह गरेको छ, जसले ग्रेट ओसियन रोड र आसपासका समुदायको दीर्घकालीन फाइदा सुनिश्चित गर्नेछ।





