
एडिलेड, अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित एक प्रारम्भिक बालबालिका केन्द्र Edge Early Learning Plympton लाई सुरक्षा र बालबालिकाको निगरानीसम्बन्धी गम्भीर उल्लंघनको आरोपपछि दुई हप्ताका लागि बन्द गरिएको छ।
Education Standards Boardले गरेको अनुगमनपछि आएको निर्णयले १०० भन्दा बढी बालबालिकाको हेरचाह गर्ने उक्त केन्द्र बन्द भएपछि, अभिभावकहरूलाई १२ घण्टाभित्रै वैकल्पिक चाइल्डकेयर खोज्न बाध्य हुनुपरेको छ।
निगरानीमा लापरबाहीको आरोप
प्रारम्भिक अनुसन्धानका क्रममा एक बालबालिकालाई लामो समयसम्म unattended (बिनानिगरानी) अवस्थामा राखिएको उजुरी दर्ता भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। बोर्डका अनुसार यो Plympton केन्द्रको पहिलो गल्ती मात्र होइन। यसअघि पनि त्यहाँ निगरानीमा कमजोरी भेटिएको थियो।
यससँगै, Edge Early Learning अन्तर्गतका अन्य केन्द्रहरू — Munno Para West र Royal Park मा पनि यस्तै प्रकारका कमजोरी भेटिएका थिए। यस कारण, दक्षिण अष्ट्रेलियामा रहेका उक्त कम्पनीका सबै २४ वटा केन्द्रलाई आगामी १२ महिनाभित्र आवश्यक सुधार गर्न औपचारिक चेतावनी दिइएको छ।
अभिभावकमा असुविधा
अचानक गरिएको बन्दले करिब ६० भन्दा बढी परिवार प्रभावित भएका छन्। अभिभावकहरूले वैकल्पिक व्यवस्था खोज्नैपर्ने बाध्यता आएको छ। तर, अधिकारीहरूले यो कदमलाई बालबालिकाको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने कार्यको रूपमा व्याख्या गरेका छन्।
सरकारको धारणा
दक्षिण अष्ट्रेलियाका शिक्षा, तालिम तथा सीप मन्त्री ब्लेयर बोयरले बालबालिकाको सुरक्षाभन्दा अभिभावकको सहजतालाई प्राथमिकता दिन नसकिने स्पष्ट पारे।
उनले भने, “यो कदमले Edge Early Learning मात्र होइन, देशभरका दीर्घकालीन डे–केयर केन्द्रहरूलाई सन्देश दिएको छ। करिब ६० परिवारलाई असुविधा भए पनि म बालबालिकाको सुरक्षाभन्दा सुविधा प्राथमिकता दिन्न।”
आगामी कदम
यो Plympton केन्द्र दुई हप्तापछि पुनः सञ्चालनमा आउँछ वा आउँदैन भन्ने स्पष्ट छैन। शिक्षा बोर्डले सुधारको प्रगति देखिए मात्र सञ्चालन अनुमति दिन सकिने जनाएको छ। सुधार नदेखिए थप कडा कारबाही वा स्थायी बन्दसमेत गर्न सकिने चेतावनी दिइएको छ।






