
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ । आज आइतबार औपचारिक घोषणा गर्दै उहाँले अब रास्वपासँग आफ्नो राजनीतिक यात्रा जारी नरहने स्पष्ट गर्नुभएको हो ।
उहाँको यो निर्णय पछिल्लो समय पार्टीभित्र देखिएका विवाद र असहमतिको परिणामका रूपमा आएको विश्लेषण गरिएको छ। विशेषगरी, सभापति रवि लामिछानेसँगको असमझदारी र नेतृत्वको शैलीप्रति बढ्दो असन्तोषले उहाँलाई अन्ततः पार्टी छोड्न बाध्य बनाएको देखिन्छ।
सभापति लामिछानेको सन्देश
सुमना श्रेष्ठको राजीनामाभन्दा एक दिनअघि मात्र सभापति रवि लामिछानेले भिडियो सन्देशमार्फत आफूलाई पार्टीका साथीहरूसँग कुनै गुनासो नभएको बताउनु भएको थियो। उहाले भन्नुभयो, “आफ्नै पार्टी परिवारभित्रका साथीहरूसँग मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँहरुलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईँहरूको यात्राको बाधक बन्दैन। रास्वपा साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने पनि म त्यसमै खुसी छु।”
लामिछानेको उक्त सन्देश अप्रत्यक्ष रूपमा सुमना श्रेष्ठप्रतिको प्रतिक्रिया जस्तै देखिएको थियो।
सुमना श्रेष्ठको असन्तोष
पार्टी छाड्ने निर्णय सार्वजनिक गर्दै सुमना श्रेष्ठले नेतृत्वप्रति कडा शब्दमा असन्तोष प्रकट गर्नुभयो । उहाँले भभान्नुन्हायो , “कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिरहनुपर्ने अवस्था सिर्जना भएको छ। पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने प्रवृत्ति हावी भएको छ। जबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यस दिनदेखि नै म आलोचना गर्दै आएकी हुँ। तर त्यसले कुनै प्रभाव पारेन, बरु उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।”
उहाँले थप भन्नुभयो , “अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। आइ क्विट—मैले पार्टी छोडेँ।”
पार्टीभित्रको असर
श्रेष्ठको प्रस्थानले रास्वपाभित्र नयाँ प्रश्न उठेको छ। पार्टी स्थापनाको प्रारम्भिक चरणदेखि नै भ्रष्टाचारविरुद्धको एजेन्डा बोकेर जनताको ध्यान खिच्न सफल रास्वपाले पछिल्ला वर्षमा ठूलो लोकप्रियता कमाएको थियो। तर लोकप्रियता बढेसँगै नेताहरूबीचको आन्तरिक असहमति र टकराव पनि सतहमा आउन थालेका छन्।
उहाँको पार्टी छोडाइले केवल व्यक्तिगत असन्तोष मात्र होइन, पार्टीभित्र आलोचना र भिन्नमतलाई कसरी सम्बोधन गर्ने भन्ने गम्भीर प्रश्न उठाएको छ। लोकतान्त्रिक अभ्यासमा आलोचना र छलफललाई संस्थागत बनाउनुपर्ने माग भए पनि, आलोचकहरूलाई छेक्ने प्रवृत्ति देखिँदै आएको श्रेष्ठले आरोप लगाउनुभएको छ।
राजनीतिक प्रभाव
सुमना श्रेष्ठको राजीनामाले रास्वपाको राजनीतिक भविष्यमा तत्काल ठूलो असर पार्ने सम्भावना कम भए पनि दीर्घकालीन सन्दर्भमा पार्टीको विश्वसनीयता र पारदर्शितामा प्रश्न खडा गर्नेछ। विशेषतः, नयाँ पुस्ताका मतदातामाझ लोकप्रिय बनेको यो पार्टीले भित्री असन्तोष व्यवस्थापन गर्न नसकेको देखिएको छ भने, यसले संस्थागत अभ्यासमा कमजोरी प्रकट गर्नेछ।
यता, रास्वपाका अन्य नेताहरूले यस घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर सुमना श्रेष्ठजस्तो वरिष्ठ नेताको प्रस्थानलाई हल्का रूपमा लिन नसकिने र यसले पार्टीभित्र थप तरंग सिर्जना गर्ने निश्चित देखिन्छ।
सुमना श्रेष्ठको राजीनामाले रास्वपामा आन्तरिक विवाद र असन्तोष गहिरिँदै गएको पुष्टि गरेको छ। अहिलेको प्रश्न भनेको—पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्ने र आलोचनालाई व्यवस्थापन गरेर संस्थागत संरचना कति मजबुत बनाउन सक्ने हो भन्नेमा केन्द्रित हुनेछ।






