
सिड्नी, सेप्टेम्बर १४ (एजेन्सी) —
न्यू साउथ वेल्स (NSW) का मुख्यमन्त्री Chris Minnsले सिड्नीको इनर वेस्ट हुँदै जाने Parramatta Roadलाई पुनः सक्रिय गर्ने ठूलो पुनःजोनिङ (rezoning) योजना घोषणा गर्नुभएको छ । यस योजनाअन्तर्गत करिब ८,००० नयाँ आवासीय युनिट निर्माण गरिनेछ, जसले लामो समयदेखि ‘शहरको सबैभन्दा खराब सडक’ भनेर चिनिने भागलाई नयाँ जीवन दिने अपेक्षा गरिएको छ।
आवास संकट समाधानतर्फ सरकारको कदम
सिड्नी हाल विश्वकै दोस्रो सबैभन्दा महँगो शहरका रूपमा चिनिन्छ, जसले आवासीय समस्या गहिरो बनाएको छ। Minnsले यस योजनालाई त्यही संकटको समाधानतर्फको ठोस कदम भन्नुभएको छ।
“अहिले हामी धेरै पछाडि छौं,” उहाले पत्रकारहरूसँग भनुभयो, “तर यस अवसरलाई सही ठाउँमा सही विकासका लागि प्रयोग गर्न सकिन्छ। यसले युवाहरूलाई शहर नजिकै घर किन्ने मौका दिनेछ, र भविष्यका पुस्तालाई नयाँ ऊर्जा र जीवन्तता दिनेछ।”
उहाँका अनुसार, सिड्नी हाल विश्वको ८०० औँ घना शहर हो, तर यसलाई ‘टोकियो’ बनाउन खोजिएको होइन। बरु उपयुक्त स्थानमा आवासीय विकास गरेर सन्तुलित वृद्धि गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कुन–कुन क्षेत्रमा विकास हुने?
यस पुनःजोनिङ योजनाअन्तर्गत विकास Leichhardtदेखि Camperdownसम्म, Pyrmont Bridge Roadसम्म फैलिनेछ। साथै,Burwood र Canada Bay councilsमा पनि यस्तै योजना अघि बढाइँदैछ भने सिड्नीको पूर्वी उपनगर वुल्लाह्रामा समेत नयाँ पुनःजोनिङ प्रस्ताव ल्याइएको छ।
मुख्यमन्त्री Chris Minnsले विकासलाई विभिन्न क्षेत्रमा समान रूपमा बाँड्ने रणनीति जानाजानी अपनाइएको बताउनुभयो। “यदि सबैले थोरै–थोरै जिम्मेवारी लिन्छन् भने कसैलाई अत्यधिक भार पर्दैन। विगतमा केही काउन्सिललाई मात्र सबै काम गर्न बाध्य पारिन्थ्यो, अरूले भने फाइदा उठाउँथे,” उहाँले भन्नुभयो।
Parramatta Roadको वर्तमान अवस्था
Parramatta Road सिड्नी शहरलाई पश्चिमतर्फ जोड्ने मुख्य सडक हो। तर लामो समयदेखि यो क्षेत्रमा रहेका भवनहरू जीर्ण छन् र आवासीय विकासका लागि प्रायः असम्भव जस्तो देखिन्थ्यो। यद्यपि, यस सडक नजिकै रेल, बस र लाइट रेल जस्ता सार्वजनिक यातायातको पहुँच राम्रो भएकाले सरकारलाई अहिले यो अवसर उपयुक्त देखिएको छ।
योजना मन्त्री Paul Scullyले भन्नुभयो, “शहरहरू संग्रहालय होइनन्, तिनीहरू बदलिन्छन्, बढ्छन् र विकसित हुन्छन्। यो थकित सडकलाई हामीले चाहेजस्तो जीवन्त समुदायमा बदल्ने अवसर हो।”
लगानी र पूर्वाधारमा जोड
Property Council of Australiaले योजनाको स्वागत गर्दै यसलाई सकारात्मक पहल भनेको छ। तर, यसलाई सफल बनाउन पूर्वाधार, यातायात र समुदायका सुविधामा थप लगानी अपरिहार्य हुने चेतावनी पनि दिएको छ।
“योजनालाई घरमा परिणत गर्नका लागि यातायात, सामुदायिक सुविधा र सरल अनुमोदन प्रक्रियामा पर्याप्त लगानी आवश्यक हुन्छ। यसले मात्र पेरामाट्टा रोडलाई रोजगारी, आवास, सेवा र जीवन्त समुदायको केन्द्र बनाउन सकिन्छ,” Property Council NSW की कार्यकारी निर्देशक Katie Stevensonले बताउनुभयो।
भविष्यका लागि सन्देश
Minnsले योजनालाई केवल घर निर्माणमा सीमित नराखी, नयाँ पुस्ताका लागि अवसर र ऊर्जा ल्याउने दीर्घकालीन दृष्टिकोणको रूपमा व्याख्या गरेका छन्।
“हामी नयाँ पुस्तालाई भन्न चाहन्छौं—ढोका बन्द छैन। हामी तपाईंका लागि शहरलाई अझ जीवन्त बनाउन तयार छौं,” उहाँले भन्नुभयो ।
यस योजनासँगै सिड्नीको आवासीय संकट केही हदसम्म कम हुने, शहरको पुरानो र जीर्ण क्षेत्रलाई नयाँ जीवन दिने र आर्थिक–सामाजिक गतिशीलतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
